इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त यूएई (दुबई) मा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले यूएईमा पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल अन्तर्राष्ट्रिय सचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
उनको खोजी गर्ने क्रममा इन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
-नयाँपेजबाट