Tuesday 8th September 2026

भिजिट भिसामा खाडी आउन लागेका ८४ जना नेपाली विमानस्थलबाट फिर्ता


तितोपाटी- गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सेटिङमा नेपाली कामदारलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको भन्ने गुनासो आएको भन्दै छानबिन शुरु गरेपछि विमानस्थलले सोमबार बिहान २ बजे ८४ जना नेपालीलाई फिर्ता पठाएको छ ।

फ्लाई दुबई र नेपाल एयरलाइन्सबाट भिजिट भिसामा खाडीका बिभिन्न देशहरुमा जान लागेका ती नेपालीलाई फिर्ता गरेपछि नाराबाजीसमेत भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मानव तस्करहरुले विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर खाडी मुलुक पठाउने गर्दा हजारौं नेपाली अलपत्र परेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेका थिए।

त्यही गुनासोका आधारमा गृह मन्त्रालयले विमानस्थलमा भएको गडबढीका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो। त्यसपछि नै विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने नेपाली कामदारलाई एकैपटक फर्काइदिएको हो ।

विमानस्थलमा रहेका मानवतस्करले भिजिट भिसामा त्यता जान लागेका नेपालीलाई नै उचालेर नाराबाजी गर्न लगाएका थिए । नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई फिर्ता पठाएको थियो ।

यसअघि सेटिङ गर्दै आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारीको मिलेमतोमा नेपालीहरु कामका लागि भिजिट भिसामार्फत खाडी मुलुक जाने गरेका थिए ।

अहिले विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण अवैधरुपमा बसेका विदेशी कामदारलाई धमाधम सम्बन्धित देश फर्काउन थालेपछि नेपाली दूतावासहरुले अवैधरुपमा खाडी मुलुक प्रवेश गर्ने नेपालीलाई रोक्न सरकारलाई आग्रह गरेको थियो ।

विमानस्थलस्थित अध्यागमन कार्यालयले भने कामको खोजीका लागि भिजिट भिसामा नेपालीको ठूलो संख्या दुबई र कतार जाँदै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई फिर्ता पठाएको दाबी गरेको छ । विभिन्न म्यानपावर कम्पनीबाट सेटिङमा जान लागेका ती नेपाली कामदारलाई अध्यागमन कार्यालयले फिर्ता गरेपछि उनीहरु अहिले शक्ति केन्द्र धाउन थालेका छन् ।साभार नेपाल समाचारपत्रबाट


सम्बन्धित शीर्षकहरु

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

प्रतिकृयाहरू
...