Friday 2nd October 2026

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा दैनिक कोटा प्रणाली हटायो


तितोपाटी – नेपाल सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि दवावमा परेको सरकारले बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको थियो । अब पीसीआर परीक्षण सहज भएका मुलुकबाट विदेशी तथा स्वदेशी वायुसेवा कम्पनीलाई मागे जति उडान अनुमति दिइने भएको छ । सरकारले १० दिनअघि अन्तर्राष्ट्रियतर्फ आंशिक नियमित उडान खुला गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच भएको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने समझदारी भएको हो । यसरी स्वदेश फर्कनेहरू पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरू हुनुपर्दछ । विदेशमा गरेको पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरूले काठमाण्डाैंमा अवतरण गरेपछि होटल क्वारेन्टाइनमा बस्नु पर्दैन सिधै होम क्वारेन्टाइमा जान सकिन्छ । यदि कुनै एयरलाइन्सले पीसीआर रिपोर्ट नेगेटिभ र पोजिटिभ भएका यात्रुलाइ सँगै ल्याएमा भने उक्त विमानका सबै यात्रु होटल क्वारेन्टाइनमा बस्नु पर्दछ ।

यस अघि विदेश स्थित कतिपय कम्पनीहरूले अाफ्नै खर्चमा विमान चार्टर गरि नेपाली श्रमिकलाइ नेपाल पठाउन अनुमति मागे पनि सरकारले अनुमति दिएको थिएन । यो निर्णय पश्चात त्यस्ता कम्पनीले आफ्नै खर्चमा चार्टर गरी श्रमिक पठाउन पाउने छन् । अब उप्रान्त त्यस्ता कम्पनीहरूलाइ प्राथमिकतामा राखेर उडान अनुमति दिइने छ ।

अहिलेको निर्णयले युरोप तथा अमेरिकालगायत पीसीआर सहज भएका मुलुकमा ५ महिनादेखि अलपत्र परेका नेपालीलाई स्वदेश फर्कन सजिलो हुने निश्चित छ । सरकारले पर्यटकलाई भने अझै नेपाल आउन अनुमति दिइसकेको छैन तर नेपालमा कूटनैतिक नियोग, दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, संयुक्त राष्ट्र संघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई भने पीसीआर तथा भिषाका आधारमा आउन छुट नै छ ।

बिहीबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु ल्याउन बिहान ६ देखि बेलुकी ६ बजेसम्म समयसीमा थियो । अब त्यो सीमा पनि हट्ने छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...