Friday 2nd January 2026

कविताः- नाग पूजा – लोक छन्द (झ्याउरे) -हरि शर्मा(सुबेदी)


नाग पूजा
छन्द: झ्याउरे
~~~~~
सँस्कृति हाम्रो अत्यन्तै राम्रो सबैको सम्मान।
तेत्तिस कोटी देवता मान्ने नेपाली महान। १ ।

प्रकृतिसँग मितेरी गाँस्दै नेपाली बस्तछन्।
मिलेर बस्दा हर्षको आँशु सबैका खस्तछन्। २।

कहिले गर्ने कुकुर पूजा कहिले कागको।
गाइको अनि गोरुको उस्तै गरिन्छ नागको। ३।

नागको आफ्नै महत्व हुन्छ हिन्दूको सँस्कार।
शिवको घाँटी समाई बस्छ्न् बासुकी भएर। ४।

बासुकी नेती बनेर भयो समुद्र मन्थन ।
सिरानी शेष बनाई बिष्णु गर्दछ्न् गन्थन। ५।

नागको भर सँसार अड्छ सँस्कार भन्दछ।
त्यसैले लोक नागको पूजा रमाई गर्दछ। ६।

खेत वा बारी बनाई थान नाग र झाँक्रीको।
गरेको पूजा सम्झना आज बेसरी आएको। ७।

मकैको बोट लगेर त्यहीँ आडमा गाडिन्थ्यो।
गोबर कुण्ड बनाई दूध धारा नि दिइन्थ्यो ।८।

गाईको दूध चामल राखी पायस पाक्दथ्यो।
देउता पूजा सिद्धिएपछि मुखमा राख्दथ्यौँ ।९ ।

नागको चित्र गरियो पूजा थानमा राखेर।
टाँसेको त्यही घरमा लगी दैलाको उपर।१० ।

कल्कीको रुप बिष्णुले लिने कलिको युगमा ।
आजकै दिन पर्दछ भन्ने शास्त्रको मान्यता ।११ ।

आजको दिन सम्झना आयो मन नै रसायो।
सम्झना अझै बल्झेर आयो त्यसैले रुवायो । १२ ।

कामना शुभ दिनको निम्ति कविता लेखेको ।
आजको दिन सुखमा बितोस् हजुरहरुको । १३ ।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...