मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए पनि तालजस्तै अवस्था कायम रहेको छ।
तालको बहाव सञ्चालन गर्न एक्साभेटर प्रयोग गरेर काम भइरहेको छ भने इन्धन नेपाली सेनाको हेलिकोप्टरमार्फत पुर्याइएको छ। स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जोखिम न्यूनीकरणको प्रयास जारी छ।
बाढीले नदीको धार परिवर्तन गर्दा केही घर डुबानमा परेका छन्। साथै, विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट तथा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैबीच, मर्स्याङ्दीको बाढीले नासोँ गाउँपालिका–८ र ९ जोड्ने पुल बगाएपछि स्थानीयको आवतजावत कठिन बनेको छ। बाढी र पहिरोले सडक तथा पैदलमार्गसमेत क्षति पुर्याएपछि केही बस्ती अन्य क्षेत्रबाट लगभग विच्छेद भएका छन्।