असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छिन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार ६१ घर तथा गोठ बगेका छन् र ५१ घरमा आंशिक क्षति पुगेको छ। बाढीले गलकोट–९ को वडा कार्यालय, तीन झोलुंगे पुल तथा विभिन्न सार्वजनिक संरचनामा क्षति पुर्याएको छ।
प्रकोपबाट दुई जलविद्युत् आयोजना, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्म प्रभावित भएका छन्। साथै २५६ पशुचौपाया र २१५ कुखुरा नष्ट भएका छन्।
निसीखोला गाउँपालिकाले प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। मृतकका परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँ, पूर्ण रूपमा प्रभावित परिवारलाई ३० हजार रुपैयाँ र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ। साथै चामल र त्रिपालसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।