Monday 27th July 2026

कास्की-२ मा नेकपाकी विद्या भट्टराइ ८४०३ बढी मतले विजयी भइन्


तितोपाटी – कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाकी उम्मेदवार बिद्या भट्टराई विजयी भएकी छन् । शनिबार भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार भट्टराइले कांग्रेसका खेमराज पौडेललाई आठ हजार चार सय ३ मतले पराजित गर्दै उनका स्वर्गीय पति रवीन्द्र अधिकारीको विरासत कायमै राखेकी हुन् । विद्याले २४ हजार तीन सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खेमराजले १५ हजार ९ सय ९१ मतमात्र ल्याएका छन्।

कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यसपछि रिक्त पदमा उनकी पत्नी भट्टराई विजयी भएकी हुन् । कास्की-२ स्वर्गीय रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको किल्ला हो। स्वर्गीय अधिकारीले संविधानसभाका दुई र प्रतिनिधिसभाको एक गरी तीन पटक विजय प्राप्त गरे। तेस्रो पटकको जितसँगै रवीन्द्र पर्यटनमन्त्री बने। ०७५ फागुन १५ गते ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा रवीन्द्रको निधन भयो। रवीन्द्रको निधनपछि रिक्त रहेको कास्की-२ मा शनिबार (मंसिर १४ गते) भएको उपनिर्वाचनबाट पत्नी विद्या भट्टराई भारी मतले विजयी भएकी छन्।

२०६४ र ०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा विजयी भएका रवीन्द्रले २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २७ हजार २०७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए। रवीन्द्रका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र ल्याएका थिए। रवीन्द्रले आठ हजार पाँच सय ४६ मतले कांग्रेसका देवराजलाई पराजित गर्दा विद्याले कांग्रेसका खेमराजलाई आठ हजार चार सय ३ मतले पराजित गरेकी हुन्। यो मतपरिणामले विद्यालाई निर्वाचित मात्र गराएको छैन पार्टीभित्र शक्तिशाली नेतृको रुपमा उभ्याएको छ।

विद्या रवीन्द्र पत्नीमात्रै नभएर लामो समय राजनीति गरेकी नेतृ पनि हुन्। उनलाई धेरैले प्राज्ञिक व्यक्तित्वको रुपमा चिन्छन्। उनले चुनावी प्रचारका क्रममा रवीन्द्र पत्नीको रुपमा मात्र नहेर्न मतदातासँग विनम्र अनुरोध गरेकी थिइन्। सँगै उनले रवीन्द्रका बाँकी सपना पूरा गर्ने बचनसमेत दिन छुटाएकी छैनन्। उनले पोखरामा चक्रपथ निर्माण गर्ने, पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने एजेन्डालाई प्राथमिकता दिएर मत मागेकी थिइन्।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणपछि इरानले कीभविरुद्ध कडा चेतावनी दिएको छ। उक्त आक्रमणमा एक नाविकको मृत्यु हुनुका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको जारी द्वन्द्वका बीच कठिन निर्णयको सामना गरिरहेका छन्। १३ दिनसम्म लगातार हवाई आक्रमण गरेपछि अमेरिकाले…

प्रतिकृयाहरू
...