Sunday 8th June 2025

घरेलु कामदार सम्बन्धी ज्ञापन-पत्र नेपाली दूतावास कुवेतमा बुझाइयो


तितोपाटी – कुवेतमा रहेका घरेलु कामदारसँग सरोकार राख्ने सरोकारवालाहरूले नेपाली दूतावास कुवेतमा अाज मंगलबार कुवेतमा कार्यरत घरेलु कामदारहरूले नेपाल छुट्टी गएर फिर्ता अाउन पाउनको लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग पुनः श्रम स्वीकृतिको माग राख्दै नेपाली राजदूतावास कुवेत मार्फत एक ज्ञापन-पत्र बुझाएका छन् । घरेलु कामदारहरूको सरोकारवाला संघर्ष समितिले सो ज्ञापन-पत्र बुझाएको हो । संघर्ष समितिले ज्ञापन-पत्र बुझाउनको लागि कुवेतको सबै भन्दा पुरानो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले सहजिकरण र समन्वय गरिदिएको थियो ।

संघर्ष समितिका संयोजक हरि कंडेल लगायतले हस्ताक्षर गरि दूतावासमा बुझाइएको उक्त ज्ञापन-पत्र नेपाली दूतावासका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी, मिनिष्टर काउन्सिलर प्रकाश मणि पाैडेलको रोहबरमा श्रम सहचारी ज्ञानेन्द्र शर्मालाइ बुझाइएको हो ।

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाइ सम्बोधन गरिएको उक्त ज्ञापन पत्रमा

माननीय मन्त्री ज्यु
मध्यपुर्वको खाडीको देश कुवेतबाट हार्दिक नमस्कार । वैदेशिक रोजगारीको शिलशिलामा हामी कुवेतमा आएका नेपाली श्रमिकहरु वर्षौदेखि कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै घरपरिवार चलाउँदै आएका छौं । तर विगत २ वर्ष देखि श्रम मन्त्रालयको आदेश अनुसार घरेलु कामदारलाई श्रम स्वीकृति नदिने घोषणा भए पछि हामी अत्यन्त पीडामा छौ । वर्षौदेखि आप्रवासी श्रमिक भएर काम गरेर पनि घर परिवारसँग भेटघाटको लागि छुट्टी जाने आउने गर्न नपाउँदा निकै मारमा परेका छौं । पल पल पीडा माथि पीडा थपिंदा पनि बुढा बाबु-आमाको स्वास्थ्योपचार, घर धानेर बसेका श्रीमान/श्रीमतीको घर ब्यवहार धान्न र तामाका मुना जस्ता कलिला छोराछोरीको उज्वल भविष्यको खातिर प्रवासी मानसिक रूपमा विक्षिप्त भएर बाँच्न बाध्य भएका छाैं । हामी बिगत धेरै वर्षदेखि कुवेतमा काम गर्दै आफ्नो श्रम पसिना बेच्दै काम गरेर घर-परिवार चलाउँदै आएका छौ। तर हामी श्रमीकहरूको मनोभावना नै नबुझी नेपाल सरकारले एक तर्फी रूपमा गरेकाे निणर्यले बिगत दूई वर्ष देखि छुट्टी जान नपाएर छटपटिइरहेका छाैं ।

हामी हाम्रो जन्म भूमी नेपाल घरमा गएर आ-आफ्नो परिवारलाई भेट्ने अनि रमाउने सपना बोकेर काम गरी रहेका छौं । अब त घरजाने बेला भयो भन्दैै खुशी हुन्छौ तर नेपाल सरकारले पुनः आउन रोक लगाएको छ। यसकारण घरमा साना साना छोरा-छोरी बृद्ध बूवा-आमाहरु हामी प्रदेशीहरू कहिले आउने होलान भन्दै पर्खाइमा पीडित बनेर बसेका छन्। बुबा आमा छोरा छिट्टो आइजा भन्दै भावुक हुन्छन तर हामी गरीब नेपालीको पीडा कसले बुझ्ने? गरिरहेको नोकरी छाडेर घरमा जाने हो भने नेपाल सरकारले फेरि फर्केर आउनको लागि श्रम स्वीकृतिमा रोक लगाएर राखेको छ । छाडेर जाँदा नेपालमा कुनै नोकरीको निश्चित छैन । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोक लगाए पनि आफन्तको मृत्यु हुँदा बिरामी भएको बेला अनेकौ जोखिम मोलेर अवैधानिक तरीकाले लाखौं तिरेर भारत लगायत अन्य देश हुँदै छुट्टी जान र आउन बाध्य छौ। चाडपर्व अनि समयमा घर जान नपाउँदा ति स-साना बच्चाहरू अनि श्रीमती रुँदै बस्न वाध्य छन। कयौँ मनोरोगी भएका छन् । हामी पनि नेपाली नागरिक हौ।हामीलाइ पनि जन्म भुमिको माया छ। हामी मध्ये यहि काम गरेरै कयौँका बालबालिका राम्रो स्कुलमा पढि रहेका छन् ।कयौं रोगी बूढा बा आमाहरूले उपचार पाईरहेका छन् । कयौंको रोजीरोटी चलिरहेको छ।

अतः हामीलाई श्रम गरेर खान पाउने स्वतन्त्रताको अधिकारबाट बञ्चित नगरी दिनको लागि बिनम्र अनुरोध गर्दछौँ। कुनै पनि श्रमिक आफूले गरीरहेको काम सजिलो अनि सन्तुष्ट भएर नै पुनः आउने गर्दछ । यस विषयमाा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बिभाग लगायत सम्बन्धीत निकायले गम्भिरताका साथ ध्यान दिनु जरुरी छ । हामीलाई श्रम गरेर खाने स्वतन्त्रताको अधिकारबाट बञ्चित नगरीयोस। नयाँ श्रमिक आउनको लागि कुनै नयाँ नियम लागु गरे पनि पुराना श्रमिकको लागि तत्काल पुनः श्रम स्वीकृति लागु गरीयोस् भनि जोडदार माग गर्दछौं भनेर लेखिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको…

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

प्रतिकृयाहरू
...