उत्तर कोरियाले सोमबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। तीमध्ये एक क्षेप्यास्त्र ९०० किलोमिटरभन्दा बढी दूरीसम्म पुगेको बताइएको छ।
यो परीक्षण दक्षिण र उत्तर कोरियाबीच तनाव बढिरहेका बेला भएको हो। गत महिना दुवै देशको सीमाक्षेत्रस्थित सैन्य निषेधित क्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा तीन दक्षिण कोरियाली सैनिक घाइते भएका थिए। दक्षिण कोरियाले त्यस घटनाका लागि उत्तर कोरियालाई जिम्मेवार ठहर गरे पनि प्योङयाङले आरोप अस्वीकार गरेको छ।
दक्षिण कोरियाले उत्तरको पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। जापानले पनि कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गरेको छ।
हालै दक्षिण कोरियाले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्र सफल परीक्षण गरेको थियो भने उत्तर कोरियाले कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिसहितको नयाँ क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ। दुवै देशको बढ्दो सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीपमा तनाव थप चर्किएको छ।