संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयास झन् सशक्त बन्दै गएको बताएका छन्।
उनले विकासका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, योग्यता आधारित नियुक्ति र प्रशासनमा राजनीतिक तटस्थताको नीति अवलम्बन गरेको बताए।
प्रधानमन्त्री शाहले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, साइबर सुरक्षा र स्टार्टअप प्रवर्द्धनमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माणतर्फ सरकार अग्रसर रहेको बताए। साथै, रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद् जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीलाई उच्च प्राथमिकता दिइने जानकारी दिए।
उनले संविधानको मर्मअनुसार सुशासन, विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए।