Monday 21st September 2026

रसुवा बाढीपछि सरकारको अनुरोध: अत्यावश्यक बाहेक हेलि उद्धार नमाग्न आग्रह, वैकल्पिक सडकमार्ग प्रयोग गर्न सुझाव


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अत्यावश्यक बाहेक हेलिकोप्टर उद्धारको माग नगर्न तथा सञ्चालनमा आएका वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्राधिकरणले सोमबार जारी गरेको सूचनाअनुसार भदौ १० गते आएको रसुवा बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तह तथा वडामा ठूलो क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म २५२ जना विदेशी नागरिक र ३ हजार ३४४ जना नेपाली नागरिकको हवाई उद्धार सम्पन्न भइसकेको जनाएको छ।

तर, न्यून प्रभावित, प्रभावित नभएका तथा सुरक्षित स्थानमा रहेका व्यक्तिहरूबाट समेत हेलिकोप्टर उद्धारको माग बढ्दै गएको भन्दै प्राधिकरणले चिन्ता व्यक्त गरेको छ। खोज तथा उद्धार, राहत सामग्री ढुवानी र जीवनरक्षक कार्यका लागि सीमित हवाई स्रोत प्रयोग गर्नुपर्ने भएकाले अत्यावश्यक अवस्था बाहेक हेलि उद्धार नमाग्न आग्रह गरिएको छ।

प्राधिकरणका अनुसार प्रभावित जिल्लाहरूमा क्रमशः वैकल्पिक सडकमार्ग सञ्चालनमा आउन थालेका छन्। धादिङ जाने यात्रुका लागि धादिङबेसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) सम्मको मार्ग सञ्चालनमा रहेको छ।

त्यस्तै रसुवा जाने यात्रुका लागि विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटिखर्क हुँदै बोगटीटार, कालिकास्थान र धुन्चेसम्म ४ चक्के साना सवारी साधन सञ्चालन हुने गरी सडक सुचारु गरिएको प्राधिकरणले जनाएको छ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा रसुवाका उत्तरगया, गोसाइँकुण्ड, आमाछोदिङ्मो र कालिका गाउँपालिका, नुवाकोटका तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढी, धादिङका गल्छी, गजुरी, बेनिघाट रोराङ तथा सिद्धलेक गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँका देवघाट तथा आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडा रहेका छन्।

प्राधिकरणकी प्रवक्ता तथा उपसचिव शान्ति महतले विपद्को विषम परिस्थितिमा सीमित साधन तथा स्रोत अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन सबै सरोकारवाला र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेकी छन्।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक…

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका…

प्रतिकृयाहरू
...