गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा बोकेर, उनीहरू यता आइपुगे कुनैले सन्तानको भविष्यका लागि, कुनैले वृद्ध आमाबाबुको औषधि उपचारका लागि, र कुनैले आफ्नो जीवनको मान खोलेर ठूला लक्ष्य बुनिरहेका छन्। सारा नेपालीहरूको त्यही दुःख, त्यही आशा, त्यही संघर्ष र त्यही सम्मान बोकेर बनेको संस्था हो गैरआवासीय नेपाली संघ, एनआरएनए।
तर आज, यो संस्था आफैंभित्रको अन्तरविरोधमा जर्जर देखिन्छ। कुवेत मात्र होइन, संसारभर छरिएका एनआरएनएहरू दुई धार, तीन गुट, चार सोच र पाँच बाटोमा चिरेका छन्। अनेक देशहरूमा प्रतिनिधित्व गर्ने संस्थाले एउटै आवाज बोल्न सकेको छैन, एउटै उद्देश्य बोकेको देखिँदैन।हरेक देशमा एनआरएनएको संरचना फरक, स्वार्थ फरक, रणनीति फरक र एउटै कुरा अभावमा छ एकता।
के यही हो त हामीले चाहेको एनआरएनए? के यही हो त हाम्रो सपना, हाम्रो साझा सम्पत्ति? हामीले त एउटा साझा गैरआवासीय नेपाली समाजको परिकल्पना गरेका थियौं जहाँ देश फरक होलान्, समय फरक होलान्, तर मन एउटै, संस्था एउटै, सपना एउटै होस्।
आज संस्था फुटिरहेका छन्, प्रतिनिधित्व गुमिरहेको छ, तर हाम्रो चाहना अझै बाँकी छ विश्वभरका एनआरएनए फेरि एउटै मञ्चमा अटून्। कुवेत, कतार, कोरिया, अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान जहाँजहाँ नेपालीहरू छन्, तिनीहरूको आवाज एउटै सुरमा गुन्जियोस्।
नेतृत्व परिवर्तनले मात्र इतिहास बन्दैन विचार परिवर्तन गर्न सक्नुपर्छ, दृष्टिकोण बदल्न सक्नुपर्छ।कुवेतमा दुई धार छन् भनेर हामी रोएको मात्र होइनौं, हामी त्यसलाई एउटा पाठ बनाउने अवसरका रूपमा हेरिरहेका छौं।हामी चाहन्छौं, कुवेत मात्र होइन, संसारभरका एनआरएनएहरूले यो मोडबाट पाठ सिकून्। हामी चाहन्छौं,संस्था गुटको होइन, साझा आत्माको प्रतिनिधित्व गरोस्।हामी चाहन्छौं,विचार फरक होलान् तर मन एउटै होस्।
एनआरएनए एउटा राष्ट्रियता बोकेको अन्तर्राष्ट्रिय संस्था हो। यसको शक्ति केवल कार्यक्रममा होइन, भावना र प्रतिबद्धतामा हो। आज त्यो भावना फुटेको छ तर हामी अझै विश्वास गर्छौं फुटेको भावना पनि सिलाउन सकिन्छ, यदि नेतृत्वसँग सहास छ भने।
अब विश्वभरका नेतृत्वले एउटै प्रतिज्ञा गर्नुपर्छ हामी संस्था बनाउने होइन, राष्ट्र बनाउने सपना बोकेका छौं।हामी पदको लागि होइन, प्रवासका पीडाको लागि होमिएका छौं।हामी बिउझन्छौं भने,एनआरएनए फेरि एक हुन्छ विश्वभर।
हामी प्रवासी नेपालीहरू, हामी त्यो वर्ग हौं जसको आँसु कहिल्यै समाचार बन्दैन,हामी त्यो वर्ग हौं जसको दुःख कहिल्यै दस्तावेज बन्दैन। तर हामी हरेक पटक आशा राख्छौं, किनभने हामी अझै एनआरएनएप्रति माया गर्छौं।
हामी चाहन्छौं एनआरएनए फुटको कथा नबनोस्, मिलनको इतिहास बन्दै जाओस्।कुवेतको अधिवेशन होस् या अमेरिकाको, जसले पनि नेतृत्व सम्हालोस् उसले राष्ट्र समेट्ने आँट गरोस्। अब गुट र शक्ति होइन, संवेदना र समानता होस्।
विश्वका टाढा-टाढा भूगोलमा छरिएका हाम्रा नेपालीहरू उनीहरूको एउटै धड्कन होस्, एउटै संस्था होस्, एउटै भविष्य होस्।र त्यो सम्भव छ यदि हामी मनका ढोका खोल्छौं भने। हामी भन्छौं अब समय छ, सम्पूर्ण एनआरएनए फेरि एक होस्।
हामी त जनताजस्तै एकता चाहन्छौं। हामी त आशावादी छौं। हामी त अझै विश्वास गर्छौं फुटको पीडाभन्दा, एकताको आनन्द गहिरो हुन्छ। हाम्रो काम आग्रह गर्ने। हाम्रो जिम्मेवारी लेख्ने, बोल्ने, सम्झाउने। तर इतिहास लेख्ने जिम्मा नेतृत्वको हो।
अब हेर्न बाँकी छ यो नेतृत्वले गुमाएको विश्वास फिर्ता गर्छ कि गर्दैन। हामी चाहन्छौं उनीहरूले इतिहास दोहोर्याउँदैनन्, इतिहास बदल्छन्।
त्यो दिन टाढा नहोस् जहाँ फेरि संस्थाको नाम सुन्दा, हामी भन्छौं त्यो त हाम्रो एनआरएनए हो, एउटै, साझा, गर्विलो विश्वभर।