Monday 14th September 2026

एनआरएनएको १२औँ ग्लोबल कन्फ्रेन्स काठमाडौंमा सुरु, प्रवासी नेपालीको लगानी र एकतामा जोड


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल ले पानसमा दीप प्रज्वलित गरेर सम्मेलनको उद्घाटन गरे।

उद्घाटन समारोहमा मन्त्री शर्माले प्रवासमा रहेका नेपालीहरूको अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रूपान्तरणका लागि महत्वपूर्ण रहेको बताए। उनले गैरआवासीय नेपालीको लगानी, प्रविधि र ज्ञानलाई नेपालको औद्योगिक विकास तथा रोजगारी सिर्जनामा उपयोग गर्नुपर्नेमा जोड दिए। साथै, मध्यपूर्वमा देखिएको संकटका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति सरकार सजग रहेको र आवश्यक समन्वय तथा आपत्कालीन व्यवस्था गरिएको जानकारी दिए।

कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठ ले संघभित्रको विवाद अन्त्य भई एकता स्थापित भएको बताउँदै प्रवासी नेपालीहरूको लगानी, सीप र ज्ञानलाई नेपालको समृद्धिसँग जोड्ने अभियान अघि बढाइने बताए। उनले निर्वाचन प्रणाली र डेलिगेट्स प्रणालीमा सुधार गरी सबैलाई मतदानको अधिकार सुनिश्चित गरिने उल्लेख गरे।

संस्थापक अध्यक्ष उपेन्द्र महतो ले ‘नेपालका लागि नेपाली’ अभियानलाई अझ बलियो बनाउँदै प्रवासी नेपालीहरूले देशको विकासमा सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनले गैरआवासीय नेपालीको लगानी भित्रिए मात्र अन्य विदेशी लगानी आकर्षित हुने उल्लेख गरे।

कार्यकारी अध्यक्ष डा. बद्री केसी ले गैरआवासीय नेपाली नागरिकता, लगानी र कानुनी जटिलता समाधान गर्न सरकारसँग आग्रह गर्दै एनआरएन डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

सम्मेलनमा पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, रविना थापा लगायतले प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालमा प्रयोग गरी देशलाई समृद्ध बनाउने अभियानमा एकता आवश्यक रहेको बताए।

विश्वभरबाट आएका प्रतिनिधिहरूको सहभागितामा भइरहेको सम्मेलनले एनआरएनएको भावी दिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...