Wednesday 24th June 2026

कुटनीतिक धरातलमा दृढताकापूर्वक उभिएका स्वाभिमानी प्रधानमन्त्री एवं राष्ट्रवादी नेता ओली


गुलाम नवी मन्सुर – नेपालको आकाशमा असंख्य तारा टल्किए, केही बल्झिए, केही हराए तर एउटै तारा यस्तो छ जसको उज्यालो अझै जनताको आँखामा सिधा घाम बनेर झुल्किरहेको छ।

कतिपय मान्छेहरू क्षणिक चमक भएर झुल्किन्छन् र हराउँछन्,
तर कोही त्यस्ता हुन्छन्, जसको उपस्थितिले युग नै बदलिन्छ।

नेपालको राजनीतिक इतिहासमा एउटा यस्तो नाम, जो केवल संसदमा मात्र होइन जनताको हृदयमा लेखिएको नाम हो केपी शर्मा ओली।
तर यो नाम केवल चार अक्षरको शब्द होइन, यो त त्याग, त्यागपछि संघर्ष र अन्तमा राष्ट्रभक्तिको अमिट शिखर हो। बाल्यकालमा नै आमाको माया गुमाएका, धेरैभन्दा धेरै नेपालीजस्तै साधारण जीवन व्यतीत गरेका, झापा आन्दोलनको आँधीमा होमिएका एक युवक जो पछि नेपालको इतिहास बदल्ने व्यक्ति बने। त्यो बालक झापा आन्दोलनको सहिदहरूको रगतले सिञ्चित भूमिमा हुर्कियो। सामन्ती व्यवस्थाको विरुद्ध आवाज उठाउँदै, जेलका साङ्लाहरू तान्दै, १४ वर्ष कारागारमा बिताए तर आत्मा कहिल्यै झुकेको थिएन।

यी १४ वर्ष कुनै व्यक्तिको जीवनको सबैभन्दा सुनौलो समय हो तर केपी ओलीका लागि त्यो ‘सुनौलो’ होइन ‘सुनौलो भविष्य’को तयारी थियो। सयौं युवाहरूले जेल भित्र छँदा आत्मसमर्पण गरे तर ओलीले गरेनन्। उनले जेलभित्रै अध्ययन गरे, विचार बनाए, दृष्टिकोण तयार गरेर एउटा नेता बन्ने बीउ रोपे। केपी ओली राजनीतिमा मात्रै होइन, विचारमा पनि उस्तै अगाडि थिए। उनको भाषण, निर्णय, कार्यशैली सबैमा एक कुरा सधैं देखिन्छ :”राष्ट्र सर्वोपरि”।

२०५१ सालमा उपप्रधानमन्त्री र गृहमन्त्री बन्दा देखिएको कार्यकुशलता होस् वा पछि प्रधानमन्त्री भएर देशलाई सही बाटोमा डोर्याउने नेतृत्व सबै ठाउँमा उनको राष्ट्रप्रतिको समर्पण झल्किन्छ। २०७२ साल देशको इतिहासमा एउटा यस्तो मोड जहाँ संघीय गणतान्त्रिक संविधान बनाउने जिम्मा ओली नेतृत्वको काँधमा थियो। एकातिर भारतको स्पष्ट हस्तक्षेप, अर्कातिर मधेस आन्दोलन, अर्को तिर भूकम्पको पीडा।
तर उनले संविधान जारी गरेर देखाए।

र त्यसपछि भयो भारतको अघोषित नाकाबन्दी। जनता लाइनमा तेल र ग्यासको लागि ठिङ्ग उभिए, शिक्षालयमा अक्सिजन थिएन, अस्पतालमा औषधि थिएन। तर त्यो समय ओलीको नेतृत्व झन् चम्कियो। उनी झुकेनन्। उनी बिकेनन्। उनी डगमगाएनन्। बरु गर्जिए “नेपाल अब आफ्नै खुट्टामा उभिन्छ।”

निजी स्वार्थ र विदेशी दबाबले अनेक नेताहरू लरबराउँदा केपी ओली उभिए ढुंगाजस्तो अडिग। त्यति मात्र होइन, महामारी आयो कोभिड। दुनिया अस्तव्यस्त, नीति बिथोलिएको समय। त्यो बेला पनि उनले जनताको स्वास्थ्यलाई प्राथमिकता दिँदै क्वारेन्टिन, आइसोलेसन, राहत, भ्याक्सिनको समन्वय गरे। धेरै देशहरूले हेरेर मात्र बसे, ओलीले काम गरेर देखाए।

त्यसैको परिणामस्वरूप, चीनसँग पारवहन सम्झौता भयो। नेपालले संसारका सामु आत्मनिर्भर हुन सक्छ भन्ने सन्देश दियो। त्यो गर्जन केवल राष्ट्रवादी नारामा सिमित थिएन—त्यो गर्जनमा आत्मसम्मान थियो।

त्यही गर्जन अर्को पटक आयो चुच्चे नक्साको विषयमा। लिपुलेक, लिम्पियाधुरा, कालापानी ती नेपाली माटोका टुक्राहरू वर्षौंदेखि चुपचाप हेरिरहेका थिए। नेताहरूले आँखा चिम्लिए तर ओलीले आँखा खोले मात्र होइन, इतिहासकै पहिलो पटक नेपालको संविधानमा नक्सा संशोधन गरेर ती भूभाग नेपालको काखमा फिर्ता गरे। नक्सा मात्र होइन, नेपाली आत्माको स्वाभिमान समेटिएको त्यो निर्णयमा नेपाली जनताले ओलीलाई ‘राष्ट्रपुरुष’को दर्जा दिन थाले।मलाई थाहा छ, आदरणीय नेता सत्तालोलुप होइनन्। उनको नजर कहिल्यै कुर्सीमा हैन, देशको भविष्यमा रहन्छ। जनताको दुःख, देशको आवश्यकता र राष्ट्रिय स्वाभिमान नै ओलीको प्राथमिकता हो। कठिन घडीमा जब अरूहरू चुप लाग्छन्, उनी निर्भीक भएर अगाडि बढ्छन् । देश हितमा जस्तोसुकै निर्णय लिन ओली कहिल्यै हिच्किचाएनन् । यस्तो नेताको साथ पाउनु हामी नेपालीहरूको गौरव हो, आशा हो र विश्वास हो।

त्यो निर्णयले विश्वभरका नेपालीलाई छाती फुकाएर भन्न सक्ने शक्ति दियो “म नेपाली हुँ, मेरो भूमि मेरो हो।” विपक्षको के कुरा गर्नु जब देशले र हाम्रा राजनेता आदरणीय व्यतित्व एवं देशका प्रधानमन्त्रीबाट देशको हितमा काम शुरू हुन्छ विपक्षी अत्तालिन थल्छन र आरोप माथी आरोप लगाउन्छन त्यो बेला पनि र अहिले पनि विभिन्न बहानमा उनीहरूले ओलीमाथि अनेक आरोप लगाए सत्तालोलुप, दमनकारी निरंकुश, जनविरोधी, उखाने गफाडी अरु पनि के के हुन के के । तर जनता जनार्दन मूर्ख छैनन् । निजी स्वार्थ र विदेशी दबाबले अनेक नेताहरू लरबराउँदा, केपी ओली उभिए ढुंगाजस्तो अडिग। उनीहरूले देखे ओलीले बोलेका कुरा शब्दमा मात्र होइन त्यो त प्रतिबद्धता थियो। मुख्य कुरालाई समेटिएर भन्ने मात्र हो भने पनि कोरोनाको महामारी आयो नेपाल जस्तो सानो देशका लागि त्यो प्रलय सरह थियो। तर ओलीले देशब्यापी क्वारेन्टिन बनाए, भ्याक्सिन ल्याए, अस्पताल बिस्तार गरे। कोही हेरिरहेका थिए, ओलीले काम गरिरहेका थिए।

त्यो बेला पनि धेरैले आलोचना गरे। तर ओलीले प्रश्नको उत्तर भाषणमा दिएनन्, काममा दिए। हरेक पटक काम गरेर गत्तिलो उत्तर दिन माहिर नेता त्यही भएर होला गणतन्त्र दिवसको अवसरमा राजधानीमा जब लाखौं युवाहरू भेला भए, तिनीहरूको मुखबाट एउटै स्वर निस्कियो “KP Ba, We Love You!”

यो केवल नाराजस्तो लाग्न सक्छ कसैलाई, तर यो त त्यो पुस्ताको स्वीकृति हो जसले काम देख्न चाहन्छ। त्यो पुस्ता हो जसले नेतामा स्वाभिमान खोज्छ र त्यो स्वाभिमान ओलीमा देख्छ। राजनीति सस्तो नाटक बन्न थाल्दा ओली गम्भीर अभिनय बने। विपक्षीले अदालतमा सरकार गिरायो, अविस्वासको प्रस्ताव ल्यायो, सडकमा आन्दोलन गर्‍यो तर जनताको मनबाट ओलीलाई हटाउन सकेन।

हिजोका खन्याइएका आरोप माथि आज जनताले प्रश्न गरिरहेका छन् । “अनि अहिले के भयो? ती विरोध गर्नेहरूले त देश चलाउन सक्दैनन्। ओली त कम्तीमा देशप्रति इमान्दार थिए।” हो, ओलीका कमजोरीहरू पनि छन्। तर उहाँको नियत राष्ट्रघाती कहिल्यै थिएन। उहाँको अभिव्यक्ति कडा होलान् तर उहाँको मुटुमा देश छ। त्यो देश जसको माटो उहाँले जेलमा बसी बसी सम्झिनुभयो। त्यो देश जसको नक्सा उहाँले रेखाचित्रमा कोरेर संविधानमा टाँस्नुभयो। त्यो देश जसको स्वाभिमानका लागि उहाँले संसारको सामु झुक्नुभएन।

त्यसैले, जब हामी “नेता” शब्द उच्चारण गर्छौं, जनताको आँखामा स्वतः एउटा आकृति देखिन्छ खरानी र कागजमा होइन, देशको आत्मामा कोरिएको आकृति केपी शर्मा ओली।

नोटः माथिको लेख लेखकको नीजि विचार भएकोले सर्वाधिकार लेखकमा निहित छ ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...