Tuesday 10th February 2026

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी मनाइँदै


सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ।

आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ। गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने जानकार गोमती भट्टले बताइन्।

“एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ” उनले भनिन्, “बिरुडा भिजाँइदा मांगलकि सगुन फाँग गाउँछौ।” बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ।

फागमा सबै नारीहरु गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए।

“मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्दि गरेपछि गौराको आग्रह बमोजिम नगरमा कलौं बिरुडी खोज्न गएको प्रसंग यस फागमा आउँछ”, भट्टले भने, “यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको उनले बताए।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ। सप्तमीका दिन धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतीमा बनाई ‘गौराघर’मा भित्र्याउन परम्परा रहेको सरस्वती अवस्थीले बताइन्।

“गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ”, उनले भनिन्, “गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ।”

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा गौरा नचाइन्छ। त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ। जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ। आजकै दिनदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिीनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गरिँदै आइएको छ। शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो।

यो पर्व अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ। शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ। यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गर्दछन्।

गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ। कञ्चनपुरमा पनि महाकाली साहित्य संगमलगायतका संस्थाहरुले गौराको अवसरमा विभिन्न कार्यक्रम राखेका छन्।

साहित्यकार रमेश पन्त मीतबन्धुले आजदेखि महेन्द्रनगरस्थित खुला मञ्चमा गौरा महोत्सव आयोजना गरिएको जानकारी दिए। “गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा डुस्को, धुमारीलगायतका गतिविधि गर्छौं”, उनले भने, “परम्परालाई जोगाउन र पुस्तान्तरणका लागि पनि महोत्सव आयोजना गरिएको हो।” रासस


सम्बन्धित शीर्षकहरु

साउदी अरबका रक्षामन्त्री तथा युवराज खालिद बिन सलमानले राजधानी रियादमा ‘विश्व रक्षा प्रदर्शनी (World Defense Show – WDS 2026)’ को…

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा…

विश्व राजनीति यतिबेला एकैसाथ युद्ध, वार्ता, प्रतिबन्ध र आन्तरिक असन्तोष को जटिल घेराभित्र फसेको देखिन्छ। मध्यपूर्वको गाजा, ओमानमा भएको अमेरिका–इरान…

प्रतिकृयाहरू
...