Friday 3rd May 2024

दबाबमा विदेशी मुद्रा सञ्चिति, विदेश जान मन्त्री र सचिवहरूको लर्को


विदेशी विनिमयको सञ्चिति निरन्तर घटेर करिब ७ महिना पनि आयात धान्न नसक्ने अवस्थामा छ । नेपाल राष्ट्र बैंकले बिलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न र विदेश जाने नागरिकलाई दिइने सटही सुविधा २०० डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ । तर सरकारी स्तरका विदेश भ्रमण भने बाक्लिदो छ । कोरोना महामारीको समयमा भर्चुअल रुपमा भइरहेका सभा सम्मेलनहरु अब भौतिक रुपमा हुन थालेको छ । भर्चुअल रुपमा पनि सहभागी हुने विकल्प खुला भएपनि मन्त्री, सचिव, सहसचिव लगायतका अधिकारीहरु विदेश भ्रमण छोड्ने पक्षमा छैनन् ।

पूर्वमुख्यसचिव विमल कोइराला संकटका बेलामा सरकार अनुशासित र मितव्ययी हुन नसकेको बताउँछन् । ‘यो सरकार हरसम्भव मितव्ययी हुनुपर्ने बेला हो । वैदेशिक भ्रमणहरु सबै कटौती गर्नुपर्ने हो,’ उनी भन्छन्, ‘तर अरुलाई अवस्था जटिल छ भनिरहेको सरकार आफू चाहिं सहज अवस्थाको जस्तो व्यवहार गरिरहेको छ । यसले अर्थतन्त्र झन् चौपट हुन्छ ।’ सरकार नै मितव्ययी नहुँदा नागरिकले संकटलाई बुझ्न नसक्ने भएकाले आफैंले उदाहरण प्रस्तुत गर्नुपर्ने कोइरालाले बताए । उनकाअनुसार लगातारका वैदेशिक भ्रमणले देशको वैदेशिक मुद्रा सञ्चितिलाई थप दबाबमा पारिरहेको छ ।

एकपछि अर्को भ्रमण स्वीकृति

पछिल्लो एक महिनामा भएका र स्वीकृत भएका भ्रमणहरुले उच्चस्तरमा वैदेशिक भ्रमण कति धेरै बढेका छन् भन्ने प्रष्ट पार्छ । गत साता प्रधानमन्त्री शेरबहादुर देउवा चार मन्त्रीसहित करिब ५२ सदस्यीय जम्बो टोली लिएर भारतमा पुगेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षा गर्नेगरी बसेको मन्त्रिपरिषद बैठकले थप उच्चस्तरीय विदेश भ्रमण स्वीकृत गर्‍यो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई सरकारी प्रतिनिधिमण्डलको विदेश भ्रमण स्वीकृत गरेको हो ।

१७–१८ वैशाखमा हुने रकी माउन्टेन च्याम्पियसिप–२०२२ मा भाग लिन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज नेतृत्वको टोली अमेरिकाको कोलोराडो जाँदैछ ।यस्तै १–६ जेठमा हुने बाल श्रम उन्मुलनसम्बन्धी पाँचौं विश्व सम्मेलनमा भाग लिन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली दक्षिण अफ्रिकाको डार्वनमा जाने अनुमति पाएका छन् । यसअघि १९–२० जेठमा स्वीडेनमा हुने एलडीसी रिन्गेजमेन्ट स्ट्राटेजी सहभागी हुन वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र सचिव पे्रम नारायण कँडेलको नेतृत्वको टोलीलाई मन्त्रिपरिषदले स्वीकृति दिइसकेको छ ।

विदेश जाने लर्को

पछिल्लो एक महिनामा मन्त्री र सचिव, सहसचिव तथा विभिन्न आयोगका पदाधिकारीहरुको विदेश भ्रमणको लामै सूची छ । १६ चैतमा बिमस्टेक राष्ट्रहरुको पाँचौं शिखर समेलनमा भाग लिन परराष्ट्रमन्त्री नारायण खड्का र सहसचिव घनश्याम भण्डारी नेतृत्वको टोली श्रीलंकाको कोलम्बो पुगेको थियो । २४ फागुनमा परराष्ट्रमन्त्री नारायण खड्का अन्टाल्या डिप्लोमेसी फोरमको द्विपक्षीय बैठकमा सहभागी हुन टर्कीमा पुगेका थिए ।

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव १४ चैतमा दुबईमा भएको हाइलेभल सेग्मेन्ट अफ मिडिल इस्ट एन्ड नर्थ अफ्रिका क्लाइमेट विकमा सहभागी फर्किएका थिए । टोलीमा वन विभागका महानिर्देशक डा. राजेन्द्र केसी पनि थए ।१० चैतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारत भ्रमणमा गएका थिए । भारतीय सरकार तथा विंग्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी भारत गएका थिए । उनको साथमा ४ सदस्यीय टोली भारत पुगेको थियो ।

३० फागुनमा श्रममन्त्री श्रेष्ठ नेतृत्वको एउटा टोली टोली यूएई, सेसेल्स र कतारको भ्रमणमा गएको थियो । सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्कासहितको टोली एकसाथ तीन देशको भ्रमणका निस्किएको थियो ।सहसचिवस्तरमा हुने बैठक नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटनको लागि लागि उनी मन्त्री र सचिव तीन देशको भ्रमणका हानिएका थिए ।

२८ फागुनमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री उमा रेग्मी र सचिव हरिप्रसाद मैनाली अमेरिकाको न्यूयोर्क भ्रमणमा गएको थियो । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र संघको आयोगको ६६औं सेसन (१४-२५ मार्च) मा भाग लिन मन्त्रालयको टोलीको नेतृत्व गर्दै मन्त्री रेग्मी त्यहाँ गएकी थिइन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम राय चैत १८ देखि भारत भ्रमणमा छन् । उनी २७ चैतमा मात्रै नेपाल फर्किनेछन् । वन सचिव प्रेमनारायण कँडेल १४ चैतमा एलडीसी रिन्गेजमेन्टको तयारी बैठकका लागि अमेरिका पुगेर फर्किएका थिए ।२६–१७ मार्चमा दोहा फोरमको २०औं सम्मेलनको बैठकमा सहभागी हुन एक सरकारी टोली कतारको राजधानी दोहा पुगेको थियो ।

८ देखि ११ मार्चसम्म ३६औं विश्व खाद्य कार्यक्रमको क्षेत्रीय सम्मेलनमा भाग लिन कृषि मन्त्रालयका सचिवको टोली बंगलादेशको ढाका पुगेको थियो । ७ देखि १८ मार्चसम्म भएको बीबीएनजे इन्टर गभर्नमेन्टल कन्फ्रेन्समा सहभागी हुन कानुन सचिव उदयराज सापकोटा अमेरिका पुगेका थिए ।एक महिनाकै बीचमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका सहसचिवहरु विभिन्न देशमा भ्रमण पुगेका छन् ।सरकारी टोली विदेश जाँदा त्यहाँ हुने खर्चदेखि वैदेशिक भ्रमण भत्तासम्म खर्च विदेशी मुद्रामै गर्नुपर्छ ।

अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौला वैदेशिक भ्रमण बढेको चर्चा सुनिएकाले मन्त्रालयले यसमा चासो राखेको बताउँछन् । ‘सकेसम्म मितव्ययिता अपनाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘यसबारे मन्त्रालयभित्र छलफल भइरहेको छ ।’अर्थविद डा. शिवराज अधिकारी सरकारले वैदेशिक मुद्राको सञ्चितिमा दबाव परेका बेला डलर बचाउन सरकारले नै अनावश्यक खर्च कटौतीमा ध्यान दिनुपर्ने बताउँछन् ।‘आयात गर्दा कमसेकम त्यसले करमा योगदान दिन्छ, तर वैदेशिक भ्रमणमा हुने खर्चले डलरको सञ्चिति मात्रै प्रभावत गर्दैन, सरकारको खर्च पनि बढाउँछ,’ उनी भन्छन्, ‘यस्ता खर्च यो बेलामा कम गरेकै बेस हुन्थ्यो ।’

-अनलाइन खबरबाट  

 


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...