Thursday 18th June 2026

वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालीममा कडाइ गरिदैँ


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखिकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारवाही गरिने बताएका हुन् ।

श्रेष्ठले सेवाग्राहीलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धीमूलक हुने भएकोले पूर्व प्रस्थान अभिमुखिकरण तालिमलाई प्रभावकारी र समयानुकुल बनाइने उनले बताए । अभिमुखीकरण तालीम प्रदायक संस्थालाई एक आपसमा गाभेर गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्व प्रस्थान अभिमुखिकरण तालिमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने भन्दै यसलाई औपचारिकतामा मात्र सिमित गर्न नहुने बताए । वैदेशिक रोजगारीमा जाने व्यक्तिको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन बिषयगत तालिमलाई पनि प्रभावकारी बनाउनुपर्ने सचिव अर्यालले भनाई थियो ।

मन्त्रालयका सल्लाहकार डा.केशव बस्यालले पूर्व प्रस्थान अभिमुखिकरण तालिममा गन्तब्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानून, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयमा जानकारी दिनुपर्नेमा जोड दिए । उनले पूर्व प्रस्थान अभिमुखिकरण तालिम अहिले प्रभावकारी हुन नसकेको टिप्पणी गरे ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई गन्तब्य मुलुकसँग सम्बन्धित महत्वपूर्ण जानकारी, विद्यमान कानुन, धर्म, संस्कृति, रीतिरिवाज साथै केही समस्या परेमा कानूनी उपचारका लागि उपलब्ध सेवा तथा प्रक्रियाको बारेमा जानकारी दिनुपर्ने बताए । वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पूर्व प्रस्थान अभिमुखिकरण तालिमको पाठ्यक्रम परिमार्जन गरी देशगत म्यानुअल तयार गरिएको बताए ।

अभिमुखिकरण प्रदान गर्ने संस्थाका प्रतिनिधिले न्यून शुल्कमा गुणस्तरीय तालिम प्रदान गर्न कठिनाइ रहेको भन्दै आफुहरुको समस्या पनि सम्वोधन गरिनुपर्ने बताएका थिए । नेपाल सरकारबाट अनुमति प्राप्त अभिमुखीकरण तालीम प्रदायक संस्थावाट पूर्व प्रस्थान अभिमुखिकरण तालीम सञ्चालन हुँदै आएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २७ र वैदेशिक रोजगार नियमावली, २०६४ को उपनियम २० मा वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखिकरण तालिम लिनुपर्ने व्यवस्था छ ।

-नेपाल प्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...