Wednesday 17th June 2026

भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ-शेखर कोइराला


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका-२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए।

‘विकासका लागि पैसा छैन भन्छौँ, भ्यू टावरमा अनावश्यक खर्च गरिरहेका छौँ, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्’, उनले भने, ‘यस्तो काम रोकिनुपर्छ।’ कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यू टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘चुनाव आउँदैछ, भ्यू टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौं भनेर प्रतिबद्धता गर्नुस्, त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुन्छ।’डा. कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताए। ‘देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने यसले देखाएको छ, तनहुँमा त यस्तो अवस्था छ भने दुर्गम जिल्लामा के अवस्था होला भनेर बुझ्न जरुरी छ’, उनले भने।

डा. कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको भन्दै कसरी गठबन्धन भन्ने विषय प्रस्ट नभएको बताए। ‘गठबन्धन कसरी गर्ने भन्ने कुरा स्थानीय तहमा बसेर मिलाउनुस्’, उनले भने। केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा जिल्लामा विकास निर्माणको कामले गति लिएको बताए। बन्दीपुरमा खानेपानी, सडक लगायतका योजनामा कांग्रेसको पहल रहेको जनाउँदै उनले विकास गर्ने पार्टी भनेको कांग्रेस रहेको जिकिर गरे।

खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो। एक करोड ५१ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष रोजन बानियाँले जानकारी दिए। उक्त आयोजनाबाट २२५ घरधुरी लाभान्वित भएका छन्। खानेपानी योजनाबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका स्थानीयवासीका घरघरमा धारा जडान गरिएको छ।

-रासस


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...