Friday 11th September 2026

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही हुने


संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)ले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छ्न् । मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने तयारी गरिएको बताउनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको उल्लेख गर्दै उनले गैरकानूनी काम गर्ने नेपाली विदेशी भूमिमा पनि नजोगिने बताए । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए ।

उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारवाहीको दायरामा ल्याउन लागिएको बताए । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई पनि सहभागी गराएको उनले बताए ।

मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न आफूले युएई सरकारसँग पनि आग्रह गरेको बताए । अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनीरूपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्न युएई सरकारसँग सहयोगको आग्रह गरिएको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकको सहभागिता थियो । कार्यक्रमका सहभागीले नेपाली श्रमिकले युएईमा भोगेको समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

-नेपालप्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...