Saturday 19th April 2025

जेठ २ देखि गौतमबुद्ध विमानस्थलबाट जजिराले कुवेतमा दैनिक उडान गर्ने


नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक एक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ ।‘२ जेठबाट उडान गर्ने गरी जजिराले निवेदन दिएसँगै नयाँ विमानस्थलबाट उडान हुने निश्चित भएको छ’ कर्णले भने ।

जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने धेरै नेपालीले सिधा उडान गर्न सक्ने अपेक्षा गरेको छ । जसले गर्दा नयाँ विमानस्थलले सजिलै उडानहरु पाउने आशा प्राधिकरणका अधिकारीहरुको छ । सरकारले बुद्ध पूर्णिमाको दिन (२ जेठ) पारेर यो विमानस्थलमा नियमित उडान शुरु गर्ने घोषणा यसअघि नै गरेको थियो ।

१ वैशाखमा परीक्षण उडान

प्राधिकरणको तयारी अनुसार १ वैशाखमा परीक्षण उडान गर्ने तयारी छ । उपमहानिर्देशक कर्णका अनुसार नेपाल एयरलाइन्सको ठूलो जहाजबाट यो विमानस्थलमा परीक्षण गरिने छ ।

‘हाम्रो तयारी अनुसार सम्भवतः १ वैशाखको दिन परीक्षण गर्छौं,’ उनले भने । यसअघि एरो थाइको जहाजबाट यो विमानस्थलमा क्यालिब्रेसन उडान गरिएको थियो । सो परीक्षणपछि रुट, लाइटिङ, सञ्चार उपकरणहरुबारे विस्तृत प्रकाशन सार्वजनिक भइसकेको छ । यससँगै विमानस्थल उडानयोग्य बनेको छ । १ वैशाखमा व्यवसायिक उडान गर्ने जहाजबाट परीक्षण भएपछि यो विमानस्थल व्यवसायिक संचालनका लागि खुला हुनेछ ।

७ वैशाखपछि विमानस्थल खुला

१ वैशाखको परीक्षण र त्यसको प्रतिवेदन तयार भएसँगै सम्भवतः ७ वैशाखबाट विमानस्थल व्यवसायिक रुपमा सञ्चालनका लागि खुला हुने छ । त्यसपछि नियमित बाहेक आवश्यक अवस्थामा यो विमानस्थलमा उडान/अवतरण सम्भव हुने छ ।

प्राधिकरणका अनुसार कारणवशः अहिले त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसेकका हवाईजहाजले वैकल्पिक विमानस्थलको खोजीमा बंगलादेशको ढाका वा भारतका विभिन्न विमानस्थलमा जानु पर्ने बाध्यता छ । ७ वैशाखपछि भने यो बाध्यता हट्नेछ ।

‘विदेशबाट आएको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले वैकल्पिक विमानस्थलका रुपमा स्वभाविक रुपमा गौतमबुद्ध विमानस्थल छान्नेछन्,’ कर्णले भने, ‘अन्य कम्पनीका जहाजले पनि आपतकालिन अवस्थामा सो दिनपछि विकल्प पाउने छन् ।’

सामान्यतया गन्तव्य विमानस्थलमा अवतरणको समस्या भएमा विकल्पमा कुन विमानस्थलमा जाने भन्ने योजना वायुसेवा कम्पनीले अगाडी नै गरेका हुन्छन् । यो अवस्थामा अब नेपाल भित्रै दोस्रो अन्तर्राष्ट्रिय सुविधासम्पन्न विमानस्थल तयार भएको छ । जसमा त्रिभुवन विमानस्थलमा जस्तै सबै सुविधा उपलब्ध रहेको छ ।

अन्य निकायको तयारी के छ ?

१ वैशाखमा परीक्षण उडान गर्ने तयारी अनुसार विमानस्थलमा खटिने सबै सरोकारवाला संयन्त्रले आफ्नो तयारी गरिरहेको प्राधिकरणको भनाइ छ । विमानस्थल भित्र प्राधिकरणमात्र नभई अनेक संयन्त्र संक्रिय हुन्छन् । यसमा सेना, प्रहरी, आयल निगम, भन्सार, अध्यागमन, ग्राउण्ड ह्याण्डिलिङ सेवा, वायुसेवा कम्पनीसहित थुप्रै निकायले समानान्तर रुपमा काम गर्नुपर्छ ।सन् २०१४ मा सुरु भएको यो विमानस्थल आयोजना नेपालमा छिटो सम्पन्न हुने राष्ट्रिय गौरवको आयोजनाका रुपमा स्थापित भएको छ ।

-अनलाइन खबरबाट 

 


सम्बन्धित शीर्षकहरु

बंगलादेश र पाकिस्तानबीच विदेश सचिवस्तरीय बैठकहरू नियमित रूपमा हुने भनिएको थियो। तर यसपटक यो लगभग १५ वर्ष पछि आयोजना गरिएको…

शिकागो: बहिरा र श्रवणशक्ति कमजोर भएका समुदायका सदस्यहरूसँग शिक्षकको रूपमा काम गर्दा एक साउदी कृत्रिम बुद्धिमत्ता विद्वानलाई प्रविधिले संसारसँग कुराकानी…

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

प्रतिकृयाहरू
...