Saturday 3rd October 2026

लालीगुँरास संरक्षणमा राष्ट्रप्रेमी बस्याल सक्रिय, सन्देशमूलक ब्यानरमार्फत जनचेतना अभियान


पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका छन्। लालीगुँरास फुल्ने मौसममा फूल टिप्ने, हाँगा भाँच्ने तथा प्राकृतिक सौन्दर्य नष्ट हुने प्रवृत्ति बढ्दै गएको भन्दै उनले सन्देशमूलक अभियान सुरु गरेका हुन्।

बस्यालले पाल्पाको श्रीनगर क्षेत्रमा “लालीगुँरास फुल्दा पहाड मुस्काउँछ, एक फूल जोगाउँदा मन पनि रमाउँछ। आउनुहोस्, फोटो खिचौँ तर लालीगुँरासका हाँगा नभाँचौँ, नत्र जरिवाना प्रकृतिले नै दिन्छ।” भन्ने सन्देशसहितको ब्यानर तयार गरेका छन्। ब्यानरमार्फत उनले लालीगुँरासको सौन्दर्यलाई नष्ट नगरी संरक्षण गर्न सबैलाई आग्रह गरेका छन्।

बस्यालले लालीगुँरास केवल एउटा सुन्दर फूल मात्र नभई नेपालको पहिचान, प्रकृतिको गौरव र सांस्कृतिक महत्व झल्किने बताए। उनका अनुसार पछिल्ला वर्षहरूमा लालीगुँरास फुल्ने समयमा धेरै मानिस घुमफिर र फोटो खिच्न पहाडी क्षेत्र पुग्ने क्रम बढे पनि कतिपयले अज्ञानतावश हाँगा भाँच्ने, फूल टिप्ने तथा रूखलाई क्षति पुर्‍याउने गरेका छन्। यस्ता गतिविधिले प्राकृतिक सौन्दर्य मात्र नभई वनस्पतिको संरक्षणमा पनि असर पुग्ने उनले बताए।

‘एक घर, एक लालीगुँरास’ अभियानका अभियन्ता समेत रहेका बस्यालले प्रकृति संरक्षण कुनै एक व्यक्ति वा सरकारी निकायको मात्र जिम्मेवारी नभई हरेक नागरिकको साझा दायित्व भएको उल्लेख गरे। “हामीले प्रकृतिबाट धेरै लिएका छौँ, अब त्यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रो नै हो,।” उनले थपे, “लालीगुँरास जोगाउनु भनेको हाम्रो पहाड, हाम्रो पहिचान र हाम्रो भविष्य जोगाउनु हो।”

बस्यालले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता सन्देशमूलक कार्यक्रम, सचेतनामूलक ब्यानर तथा जनचेतना अभियान सञ्चालन गर्ने योजना रहेको बताए। उनका अनुसार युवाहरूलाई प्रकृति संरक्षणमा जोड्ने उद्देश्यले ‘एक घर, एक लालीगुँरास’ अभियानलाई पनि थप विस्तार गर्ने तयारी गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...