Friday 19th June 2026

टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे


तीतोपाटी डटकम-नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उनले बताए । “अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ”, अध्यक्ष अधिकारीले भने ।

समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ । नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन ।

कसरी लगाउने टीका ?

विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ । विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।

विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहँेलो जमरा नै प्रयोग गरिन्छ ।

घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैँ पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ । यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ ।

नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।

रातोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...