Sunday 30th August 2026

कविताः हृदय -सविता के.सी.


तहसनहस भएको छ, क्षतविक्षत भएको छ
जसले सोध्छ उसैले एक पटक धक्का लगाउँछ
अनि दुख्छ, चर्किन्छ, पोल्छ मेरो हृदय
छटपटिन्छु म, बरबरती आँसु झर्छ एकान्तमा ।

गलित मन भन्छु म, हृदय नै गलेको हुन्छ
बाउँडिए हातगोडा भन्छु म, मन कुँडिएको हुन्छ
थाकेको छ शरीर भन्छु हैन रहेछ
पीडित मस्तिष्क मनमा टाँसिदो रहेछ ।

दुख्दा दुख्दा अब त दुख्न छाडिसके
ऐय्या भन्ने शब्द पनि हराइसके
सानातिना चोटले नदुख्ने भइसक्यो
वचनका तीर र बाणहरू त यसै हराइसके ।

थाहा छ तिमी पनि दुई लात्ती बजार्न आयौ
सबैले हानेको चोटमा मौका पायौ
तर मलाई तिमीले दिएको चोट चोट लाग्दैन
यस्ता चोटले म भित्रका मानव जाग्दैन ।

पिल्सिएको छ, अदुवा झैँ थिचिएको छ
श्रवणमा बहिरो भइसकेको छ हृदयको कान
थोपाथोपा अनि छिटाछिटा रगत जमिनमा ताल बने
यो शरीर ठिङ्ग उभिएको छ तर रक्तसञ्चार विहीन छ ।

हो कोही मुस्कुराएका छन् मेरा सामुन्ने
तर म दृष्टिविहीन भइसकेको छु
कठ्याङ्ग्रिने जाडो र पोल्ने घाम छुट्टिँदैनन्
स्पर्श महसुस गर्ने छाला लठ्ठिएका छन् ।

नशा पिएर लठ्ठिएको नसोच मलाई
म नशामा डुबेको पटक्कै होइन ।
हो, बेहोस भई लठ्ठ परेर संसार भुल्ने रहर छ
नितान्त आफ्नो मनलाई भुलेर बाँच्ने रहर छ ।

म र मेरो मन छुट्याउन नमिल्ने रहेछ
म र मेरा ज्ञानेन्द्रिय छुट्याउन नमिल्ने रहेछ
त्यसैले म मेरा पीडासित रमाइरहेछु
त्यसैले म मेरा हृदय र मनसित रमाइरहेछु ।

पिल्सिएको हृदय चोइटिएको मन
कङ्गाल जीवन छैन केही धन
हानेर जाऊ कि कोट्याएर जाऊ, मनको चोट
न पालुवा कलकलाउँदा न छन् बिरुवा र बोट ।

 

-सविता के.सी. काठमाडौं


सम्बन्धित शीर्षकहरु

इरानसँगको युद्ध छ महिनामा प्रवेश गर्दा खाडी क्षेत्रको ऊर्जा उद्योगमा गम्भीर असर परेको छ। युद्ध सुरु भएयता विश्व बजारमा ब्रेन्ट…

स्विट्जरल्याण्डको आराउस्थित एक र्‍याभ (Rave) कार्यक्रममा भएको गोलीकाण्डमा २२ वर्षीया एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते…

नाइजरको राजधानी नियामीमा सत्तारुढ सैन्य सरकारविरुद्ध केही युवा सैनिकहरूले गरेको विद्रोहको प्रयास असफल भएको छ। सरकारी सुरक्षा बलले विद्रोह नियन्त्रणमा…

प्रतिकृयाहरू
...