Monday 27th July 2026

अफगानिस्तानबाट नेपालीको उद्वार जारी


तितोपाटी- अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ ।

मन्त्रालयका अनुसार एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी थप ११२ जना स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार दुबई उडानबाट ३९, टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ जना नेपाल फर्किएका थिए ।
अफगानिस्तानमा कति नेपाली छन् यकिन तथ्याङ्क कसैसँग छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत पछिल्लो दुई वर्षयता श्रम स्वीकृति लिएर अफगानिस्तान गएका नेपाली नागरिकको सङ्ख्या तीन हजार ९१३ जना रहेको मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिनुभयो । अनौपचारिक क्षेत्रबाट अफगानिस्तान पुग्नेको सङ्ख्या पनि ठूलो रहेको बताइन्छ तर यसको तथ्याङ्क कसैसँग छैन ।  श्रम स्वीकृतिको म्याद दुई वर्ष हुने गर्छ । यो तथ्याङ्क २०७८ साउन २९ गतेसम्मको हो । श्रम मन्त्रालयअन्तर्गतका निकायले श्रम स्वीकृति लिनेको मात्र तथ्याङ्क राख्छ । त्यहाँबाट फर्कने वा नवीकरण गर्नेको तथ्याङ्क ऊसँग हुँदैन । परराष्ट्र मन्त्रालयले भने यसअघि अफगानिस्तानमा करिब एक हजार पाँच सय नेपाली रहेको बताएको थियो ।
श्रम मन्त्रालयका अनुसार नेपालबाट विदेशमा काम गर्नका लागि श्रम स्वीकृति दिन थालेयता १४ हजार ५६२ जना नेपाली नागरिकले श्रम स्वीकृति नै लिएर अफगानिस्तान गएको काफ्लेले बताउनुभयो । स्वीकृति लिएर गएका कतिपय यसअघि नै स्वदेश फर्किसकेका छन्, त्यसको तथ्याङ्क हुँदैन । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारका लागि गठित अन्तरनिकाय कार्यदलका संयोजक तथा परराष्ट्र मन्त्रालयका हरिश्चन्द्र घिमिरेका अनुसार नेपालीलाई स्वदेश फर्काउन मन्त्रालयले सबै निकायसँग समन्वय र सहकार्य जारी राखेको छ । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण दर्ता गराउने व्यवस्था गरिएअनुरूप वेब पोर्टलमा सोमबार साँझसम्म ३६१ जना नेपालीले दर्ता गराएका छन् । हालसम्म सम्पर्कमा आएकामध्ये दुई जनाको राहदानी नभएको पाइएको छ । ती दुई जनालाई यात्रा अनुमति पत्र जारी गरेरै भए पनि स्वदेश फर्काउने तयारी भइरहेको घिमिरेले बताउनुभयो ।गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...