Friday 3rd July 2026

‘मलेसियामा लुटिएँ- घर फर्काइदेउ सरकार, गाउँमै खेतीकिसानी गरेर बस्छु’


तितोपाटी- गाउँमा बनिबुतो गरेर हातमुख जोर्न धौधौ परेपछि ताप्लेजुङकी रूपा अधिकारी (नाम परिवर्तन) पाँच वर्षअघि मलेसिया गइन् । दुःख नै भए पनि विदेशमा राम्रो कमाइ हुने उनको विश्वास थियो । धेरथोर कमाएपछि नेपाल फर्किएर सानोतिनो व्यवसाय गर्ने सपना बुनेर मलेसिया उडेकी उनले सोचेजस्तो भएन ।

क्लिनर भिसा लगाएर मलेसिया पुगेकी उनले नेपालभन्दा ज्यादा दुःखकष्ट व्यहोर्नुपर्‍यो । होटलमा काम गर्न गएकी उनी घरेलु कामदार बन्नु पर्‍यो । महिलालाई घरभित्रको काममा असाध्यै अन्याय, दुर्व्यवहार हुने गरेको उल्लेख गर्दै उनी भन्छिन्, ‘त्यो घरमा एक वर्ष जसोतसो टिकेँ । तर, अर्को वर्ष भोजपुर घर भएका विकास राईले राम्रो काम लगाइदिन्छु भनेपछि छँदाखाँदाको काम छोडेर हिडेपछि झन् धेरै दुःख पाएँ ।’
४१ वर्षीय रूपाले पाँच वर्षको अवधिमा चार पटक काम फेर्नु परेको बताइन् । यस क्रममा जागिरको प्रलोभन देखाएर कतिपय नेपालीले समेत आफ्नो कमजोरीको फाइदा लिएको उनी बताउँछिन । घरको काम छाडेर भागेपछि उनले मलेसियाको ठूलो शहर जोहोबारुको एक होटलमा काम गरिन् । त्यहाँ धेरै नेपाली काम गर्छन् । ‘होटलमा अवैध रूपमा बसेर काम गरेकै कारण कहिलेकाहीँ मलेसियन प्रहरीसँग रात बिताउन बाध्य भएँ,’ उनले भनिन्, ‘प्रहरी खोरमा थुनिनुभन्दा उनीहरूले जे भन्यो त्यही मान्नुको विकल्प थिएन ।’होटलमा १७ महिना काम गरेपछि झापा दमकका सुरेन्द्र बानियाँसँग उनको चिनजान भयो । बानियाँको भनाइमा लागेर उनी होटलबाट भागेर मलेसियाको पेनाङ शहरस्थित एउटा माछा फार्ममा काम गर्न थालिन् । मालिकले दुर्व्यवहार गरेपछि उनले त्यो कामसमेत छाडिन् । कोरोना महामारी फैलिनुभन्दा दुई महिनाअघि पेनाङ शहरनजिकैको गाई फार्ममा काम गर्न थालिन । ‘अहिले यही गाई फार्ममा कार्यरत छु’, उनले भनिन्, ‘मलेसियामा काम परिवर्तन गर्दागर्दै थाकिसकेँ । घर फर्किन मन छ । अब विदेश कहिले आउँदिनँ । बरु गाउँमै परिवारसँग बसेर बनिबुतो गरेर खाँदा यत्रो दुःख त थिएन ।’
श्रीमान् सुस्त मनस्थितिको भएकाले परिवार पाल्न मलेसिया रोजगारीका लागि आउनुपरेको बाध्यता उनले सुनाइन् । मलेसियाबाट फर्किएपछि गाउँमै अधियाँ जग्गा खोजेर खेतीपाती गरी बस्ने उनले बताइन् । उनले मलेसियास्थित नेपाली दूतावासमा राहदानी बनाउन आवेदन दिएकी छन् । दूतावासबाट उनले राहदानी र अन्य कागतजागत बनाइ पाउने आश्वासन पाएकी छन् । राहदानी बनेपछि कम्पनीलाई भनेर घर फर्किने उनको योजना छ ।
हातमा सीप नभएका नेपाली महिलालाई एजेन्टको प्रलोभनमा परेर विदेश नआउन उनी सुझाउँछिन् । अन्यथा दुर्व्यवहार, यौन शोषण, मानसिक यातना र आर्थिक शोषणमा परिने उनी बताउँछिन् ।
उनी प्रतिनिधि पात्र मात्र हुन्, मलेसियामा अवैध रूपमा रोजगारदाता कम्पनीको शरण लिएर काम गर्ने करिब २० हजार नेपाली महिला कामदार रहेको मलेसियास्थित नेपाली दूतावासको अनुमान छ । तीमध्ये ५० प्रतिशत महिला कामदारको अवस्था रूपाको जस्तै छ ।

दूतावासले पनि नेपाली महिला कामदारलाई अवैध रूपमा बसेर काम नगर्न र एजेन्टको प्रलोभनमा परि अवैध बाटो भएर मलेसिया रोजगारीमा नआउन पटक–पटक आग्रह गर्दै आएको छ । मलेसियामा अवैध रूपमा बसेर रोजगारी नगर्न नेपाली कामदारलाई दूतावासले पटक–पटक सचेत गराउँदै आएको राजदूत उदयराज पाण्डेले बताए ।
मलेसिया अवैध रूपमा बसेर रोजगारी गरिरहेका र समस्यामा परेका कामदारलाई दूतावासले सम्बन्धित निकायसँग समन्वय गरेर स्वदेश फर्काउने काम पनि गरिरहेको उनले जनाए । मलेसियामा अवैध रूपमा काम गर्ने नेपाली कामदार प्रहरीबाट पक्राउ र रोजगारदाता कम्पनीबाट ठगिनसक्ने जोखिम धेरै रहेको पाण्डे बताउँछन् ।

रमेश भारतीले, शिलापत्रमा लेखेकाछन


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता हुनु नेपालको युवा शक्ति, राष्ट्रिय अनुशासन र आपतकालीन तयारी क्षमतालाई संस्थागत गर्ने दिशामा एउटा…

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

प्रतिकृयाहरू
...