Sunday 17th May 2026

विदेशमा रोकिएका छन् ६० हजार नेपाली कामदार, साताको २ हजार फर्काउँदा समस्या समाधान होला ?


तितोपाटी- सरकारले धेरै सङ्ख्यामा नेपाली श्रमिक रहेका मुलुकमा हवाइ उडान पुनः सञ्चालन गर्ने भएको छ । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बुधबार टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियामा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका कामदारलाई सातामा २ हजारका दरले उद्धार गर्ने निर्णय सीसीएमसीले गरेको छ । तर, परराष्ट्र मन्त्रालयका अनुसार खाडीका देश, मलेसिया, अफ्रिकी र युरोपका देशमा गरी करिब ६० हजार कामदारलाई तत्काल स्वदेश फर्काउनुपर्ने अवस्था छ । सीसीएमसी र प्रधानमन्त्री कार्यालयलाई यस विषयमा जानकारी गराइसकिएको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले बताए ।
कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले डेढ महिनाअघि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका करिब ६० हजार कामदार रोजगारदाता कम्पनीमै बसिरहेको कूटनीतिक नियोगहरूले सरकारलाई जानकारी गराएका छन् ।
विदेशमा कामदार समस्यामा नपरून् भनेर सरकारले अन्तर्राष्ट्रिय उडान खुलाएर स्वदेश फर्काउने निर्णय गरेको सीसीएमसीका खगराज बरालले जानकारी दिए । रोजगारदाता देशमा रोकिएका कामदार बेखर्ची भए सरकारले क्वारेन्टाइन खर्च व्यहोर्ने र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका कामदार छिट्टै स्वदेश फर्काउने वातावरण बनाउने उनको भनाइ छ ।
रोजगारादाता देशमा रोकिएका कामदारलाई स्वदेश फर्काउन कुनै अप्ठयारो नहुने र समस्या समाधान गरिने बरालले बताए ।
बेखर्ची कामदारको खर्च कहाँबाट व्यहोर्ने र र उनीहरूलाई कस्तो होटलमा क्वारेइन्टाइनमा राख्ने भन्ने बारेमा सीसीएमसीले खुलाएको छैन । खाडीका देश र मलेसियामा रहेका राजदूतहरूले सरकारलाई अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका कामदार फर्काउन वैकल्पिक उडान सुरु गर्न आग्रह गर्दै आएका छन् ।
कोरोनाका कारण मात्र नभई रोजगारीका क्रममा ज्यान गुमाएका, करार अवधि सकिएका, आममाफी पाएका र अन्य समस्यामा परी रोकिएका कामदार फर्काउन सरकारले सहज वातावरण बनाउनुपर्ने मलेसियाका लागि नेपाली राजदूत डा. उदयराज पाण्डेले बताए । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका कामदार तत्काल स्वदेश फर्काउन सुरु नगरे अर्को समस्या सिर्जना हुन सक्ने पाण्डे बताउँछन् ।
सरकारले गत वर्ष पनि कोरोनाका कारण विदेशमा रोकिएका कामदारको चार्टर उडानमार्फत उद्धार गरेको थियो । युरोपका देश र अफ्रिकी देशमा रोकिएका कामदार टर्की हुँदै नेपाल फर्काउने सीसीएमसीले जानकारी दिएको छ ।
अफ्रिकी र युरोपका देशबाट दैनिक सय जनाभन्दा धेरै कामदार स्वदेश फर्किने गरेका थिए । भने, खाडीका देश र मलेसियाबाट सातामा ४ हजारभन्दा धेरै कामदार स्वदेश फर्किने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...