Wednesday 24th April 2024

निषेधाज्ञाको समीक्षा गर्दै गृह, खुकुलो बनाउने मोडालिटीमा छलफल



तीतोपाटी डटकम-काठमाडौं । गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समीक्षा थालेको छ ।गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समेत छलफल गरेका छन् ।

हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको गृहको निष्कर्ष छ । तर अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो गर्दै लैजानुपर्ने अधिकारीहरुको भनाइ छ ।गत वर्ष एकैपटक खुकुलो बनाउँदा फेरि संक्रमण बढेको भन्दै गृहले यसपालि चाहिँ मोडालिटी बनाएर निश्चित क्षेत्र खोल्दै जाने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहाल भन्छन्, ‘जिल्लाको दैनिक समीक्षा प्राप्त गरिरहेका छौं, अब जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने छ ।’

तत्काललाई उत्पादन र कृषि क्षेत्र, पाठ्यपुस्तक ढुवानी जस्ता कार्यमा समस्या देखिएको उनले बताए । दाहालले भने, ‘स्वास्थ्य मन्त्रालयसँग पनि राय लिन्छौं, त्यसपछि निषेधाज्ञाबारे थप निर्णय हुन्छ ।’मृत्युदर र संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउँदै जाने विषयमा स्वास्थ्य मन्त्रालयको पनि विमति नरहने गृहको बुझाइ छ ।

उपत्यकामा जोर-विजोरको तयारी

काठमाडौं उपत्यकामा चाहिँ जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउने विषयमा छलफल भइरहेको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने अधिकारीहरुको भनाइ छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्छन्, ‘यो मसान्तसम्म त निषेधाज्ञा जारी नै छ, त्यसपछि थप हुँदा चाहिँ अन्य केही क्षेत्र खोल्ने विषयमा छलफल भइरहेको छ ।’ यद्यपि, त्यसका लागि स्वास्थ्य मन्त्रालयको पनि राय लिने उनको भनाइ छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने बताउँछन् ।

‘अझै समय बाँकी रहेकाले महीनाको अन्तिमसम्मको स्थिति हेर्नुपर्छ’, भट्टराईले अनलाइनखबरसँग भने, ‘हाल चाहिँ संक्रमण र मृत्यु दर घटेको हाम्रो निष्कर्ष छ ।’

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले महामारी नियन्त्रणका लागि भन्दै १६ वैशाखदेखि निषेधाज्ञा लगाएका थिए ।

साभार-अनलाइनखबर डटकम


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...