Saturday 10th October 2026

लघुकथाः “जानकी” -पुष्पा नेपाल (सुवेदी)


आफूभन्दा मुनि दुई भाइ र एक वर्षकी सानी बहिनी जानकीको पोल्टामा सुम्पेर उनकी आमा परलोक हुँदा ऊ केवल १३ वर्षकी मात्र थिइ।
कक्षा सातमा पढ्दै गरेकी जानकीको टाउकोमा पहाड खसेको थियो । जस्तै परिस्थिति पनि मान्छेले सामना गर्नैपर्ने प्राकृतिक नियमानुसार नै जानकीले पनि परिस्थितिसँग जुध्न थाली।

अन्तिम श्वास लिदै गर्दा उस्की आमाले “जानकी सानी बहिनीको राम्रो हेरचाह गरेर हुर्काउनु र पढाएर ठूलो मान्छे बनाउनु है” भनेको कुरा सम्झदै बहिनीलाई रातभरि काखमा राखेर आँशुको दहमा डुबिरहन्थी।

समयले उस्को घाउमा मल्हम लगाएर पुरिदिदै थियो । ऊ भने साना भाइबहिनीहरुको सेवामा यति तल्लिन भई कि उस्ले आफ्नो पढाइ पनि छोडिसकेकी थिइ । भाइबहिनीहरुको हेरचाह, मेलापात, घरधन्दा सबै उसैको जिम्मामा थियो । हुनत बाबुले सौतेनी आमा पनि भित्र्याईसकेका थिए तर पनि सारा कुराको बोझ भगवानले उसैका लागि बनाइदिएको प्रतित हुन्थ्यो ।

उसकी बहिनीले गाउँकै विद्यालयबाट एसएलसी पास गरेर शहरतिर पढ्न हिड्दा उस्लाई आमाले आएर “स्याबास जानकी” भने झै लागिरहेको थियो र यति खुशी थिइकी, लाग्थ्यो बहिनी भन्दा बढी ऊ नै खुशी छे।

तर मान्छेले चाहेजस्तो कहाँ हुन्छ र! निष्ठुरी त्यो शहरले उसकी बहिनीको रङ फेरिदिइसकेको थियो । बहिनीले पढाइ सकेर जानकीलाई खबरै नगरी शहरिया राजकुमारलाई आफ्नो बनाई सकेकी थिइ र बिर्सिसकेकी थिइ, आमा बनेर हुर्काउने दिदी अनि ऊ जन्मेको गाँउ।

यता जानकी बहिनीको खुशीमा रमाउँदा रमाउँदै आफ्नो जवानी कहिले आएर सकियो? खुशी कता हरायो? थाहा पाउनै सकेकी थिइन ।
उमेरले नेटो काटिसकेकी जानकीलाई एकदिन उसकै बाबु र सौतेनी आमाले यौटा विदुरको साथ लगाएर पठाइदिए । लोग्नेको घरमा पनि सौताले उसलाई उपहारमा छोडेकी स-साना नानीहरूको स्याहार सुसारमा दिनहरू बिताउन थाली,आफ्नै आमाको आशीर्वाद सम्झेर।

पुष्पा नेपाल (सुवेदी )
इलाम


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...