Thursday 28th March 2024

खाडीका चार देशमा ११ नेपाली कामदार कोमामा, स्वास्थ्य अवस्थाका बारेमा सरकार अनभिज्ञ


तितोपाटी- वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका ११ जना नेपाली कामदार कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

हाल, कतारमा ७ जना, साउदीमा एक, यूएईमा दुई र बहारइन एक जना गरी ११ जना कामदारको कोमामा उपचार भइरहेको बोर्डले जानकारी दिएको छ । कोमामा उपचाररत नेपालीको स्वास्थ्य अवस्था र कुन अस्पतालमा उपचाररत छन् भन्ने विषयमा नियमक निकाय बोर्ड नै अनभिज्ञ छ । नेपाली कामदार कोमामा उपचारत छन् भनेर सम्बन्धित देशका नियोगले संख्या मात्र पठाउने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए । कोमामा उपचाररत नेपाली बिरामीको स्वास्थ्य अवस्था, कुन अस्पतालमा उपचार भइरहेको र अन्य विषयमा बारम्बार जानकारी मागे पनि दूतावासले नपठाएको सुवेदी बताउँछन् ।बिरामीको परिवारसँग सम्पर्क गरेर विवरण लिने काम भइरहेको उनले बताए ।

स्वदेशमा उपचार गर्न सहज छैन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघिल्लो आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा गएका र विभिन्न कारणले अचेत अवस्थामा कोमामा उपचाररत बिरामीलाई नेपाल ल्याएर उपचार गर्ने योजना अघि सारेको थियो । तर, पछिल्लो समय यो विषयमा मन्त्रालयले कुनै काम गरेको पाइँदैन । विदेशमा कोमामा उपचाररत नेपाली कामदारलाई नेपालमा ल्याएर उपचार गर्न सहज नहुने सुवेदीले जानकारी दिए । विदेशमा जस्तो कोमामा उपचाररत कामदारलाई रेखदेख गर्न र अस्पतालको व्यवस्था नभएसम्म स्वदेश फर्काएर उपचार गर्न मुश्किल हुने उनको बताए ।
विदेशी अस्पतालमा कोमामा राखेर उपचाररत दुई जनालाई सरकारले स्वदेश ल्याएर उपचार गर्न सुरु गरेको थियो । तर, उनीहरूलाई पनि परिवारले नै उपचारका लागि नेपाल ल्याउन आग्रह गरेको बोर्डले जनाएको छ ।
कोरियाबाट झापाका ओमनाथ ढकाललाई वीर अस्पतालमा ल्याएर कोमामा उपचार गरिएको थियो । उनलाई बोर्डको खर्चमा स्वदेश फकाएर कोमामा उपचार गरिएको थियो । यूएईबाट कुमार फकामी पुनलाई नेपाल ल्याएर निशान अस्पतालमा कोमामा उपचार गरिएको थियो । हाल उनीहरू दुवै परिवारको जिम्मा रहेको बोर्डले जनाएको छ ।
कोमामा उपचाररत बिरामीको खर्च रोजगारदाता कम्पनीले ब्यहोर्दै आएको बोर्डले जनाएको छ । अन्य देशको कोमामा रहेका बिरामी ल्याएर कहाँ उपचार गर्ने भन्ने विषयमा सरकार नै अलमलमा परेको देखिन्छ ।
कोमामा रहेका बिरामीलाई नेपाल ल्याउन सरकार र सम्बन्धित देशका रोजगारदाता मिलेर समस्याको समाधान गर्न सक्छन् । तर, उनीहरूको तत्काल उपचार गर्न भने समस्या हुने बोर्डले बताउँदै आएको छ ।

कोमाका बिरामीका लागि छुटै अस्पताल
सरकारले हचुवाका भरमा योजना बनाएजस्तो विदेशका अस्पतालमा कोमामा उपचार भइरहेका बिरामीलाई नेपाल ल्याएर उपचार गर्न सहज नहुने राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल निर्देशक डा. प्रमोद यादलले बताए । सरकारले विदेशमा हाल उपचाररत कोमाका बिरामीलाई उपचार गर्ने छुटै व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
‘नेपालमा सबै बिरामीलाई सामान्य बेडमा राखेर उपचार गरिन्छ । कोमाका बिरामीलाई धेरै समय र उचित रेखदेख गर्नु पर्छ । साथै कोमाका बिरामीलाई धेरै औषधिका लागि समय चाहिन्छ,’ उनले भने, ‘तापक्रम, स्याहारसुसार र परीक्षणलगायत अन्य सुविधा दिन सक्ने अवस्था छैन । यस्तो महत्वपूर्ण विषयमा सरकार बोल्नभन्दा अस्पतालको उपाय खोज्नुपर्ने हुन्छ ।’
पछिल्लो समय नेपालमा सुविधा सम्पन्न अस्पताल खोलिए पनि कोमामा पुगेका बिरामीलाई उपचार गराउन आवश्यक प्रविधि र नर्सको अभाव हुने निर्देशक यादवको भनाइ छ । सरकारले कोमाका बिरामीलाई उपचार गराउन छुट्टै सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने उनको सुझाव छ ।

कोमामा कसरी पुग्छन् ?
विदेशमा उपचाररत नेपाली कामदार कसरी कोमा पुग्छन् भने विषयमा सरकारले अध्ययन गर्न सकेको छैन ।
कोमामा रहेका बिरामीको अवस्था कस्तो छ भन्ने विषयमा पनि सरकारले जानकारी लिन नसकेको कामदारको आरोप छ ।वैदेशिक रोजगारीमा जाने कामदार कार्यक्षेत्र, भाषा र अदक्षताकै कारण दुर्घटनामा पर्दा कोमामा पुग्ने गरेको रोजगारविज्ञहरू बताउँछन् ।
सरकारले वैदेशिक रोजगारीमा श्रमिक लिँदै आएका देशमा भाषा, स्वास्थ्य र अन्य सुविधामा विषेश जोड दिनुपर्ने रोजगारविज्ञ पूर्णचन्द्र भट्टराईले बताए । सरकारले गन्तव्य देशसँग सम्झौता गरी निश्चित तालिम दिएर मात्र नेपाली कामदार रोजगारीमा लगाउने मादण्डको विकास गर्नुपर्ने उनले बताए । ‘कोमामा उपचार भइरहेका कामदारलाई नेपाल ल्याउन नसकिने अवस्थामा उनीहरूको परिवारलाई नियमित भेटघाट गर्न विदेश आउजाउ गर्न मिल्ने वातावरण सरकारले मिलाउनुपर्छ । यो अति आवश्यक पनि छ,’ उनले भने, ‘सामाजिक सुरक्षा कोषमा पनि विदेश जाने कामदारलाई जोड्न पर्ने, रोजगारदातालाई बढी जिम्मेवार बनाउनुपर्ने र श्रमिकलाई स्वास्थ्यका बारेमा बढी जोड दिनुपर्छ ।’ श्रम सम्झौता गर्दा नै गन्तव्य देशमा रहेका नेपाली नियोगमा स्वस्थ्य सहचारी राख्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

-रामेश भारतिले आजको शिलापत्रमा लेखेका छन।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...