Wednesday 30th September 2026

इजरायलमा छिटो कामदार लैजान राजदूतसँग आग्रह


तितोपाटी- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली कामदार रोजगारीका लागि इजरायल जाने प्रक्रिया छिटो शुरु गराउन नेपालका लागि इजरायली राजदूत हनान गोडेरलाई आग्रह गरेका छन् । नेपालका लागि राजदूतको दोस्रो कार्यकाल नियुक्त भएका गोडेरले अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित कार्यकक्षमा सोमबार शिष्टाचार भेट गरेका थिए । भेटमा अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले दुई पक्षबीच सम्झौता भएको ज्येष्ठ नागरिकहरूको स्याहारसुसारमा नेपाली कामदार (केयर गिभर) जाने प्रक्रिया छिटो शुरु गराउन राजदूतमार्फत इजरायल सरकारलाई अनुरोध गरेको अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिनाले उक्त काममा पछिल्लो समय दूतावासले चासो देखाएकोले छिटो नतिजा निस्कने विश्वास समेत व्यक्त गरे ।

वैदेशिक रोजगार विभागले फागुन महिनाको दोश्रो हप्तसम्ममा इजरायलको रोजगारीका लागि आवेदन माग गर्ने बताए पनि अझै आवेदन गर्ने कार्यविधि सार्वजनिक गरेको छैन । गत असोज महिनामा इजरायलमा केयर गिभरका लागि नेपाली कामदार पठाउने सम्बन्धी सम्झौतामा र पुस ९ गते त्यससम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । हस्ताक्षर गर्ने समयमा तत्काल कामदार पठाउने प्रक्रिया शुरु हुने भनिए पनि प्रोटोकल हस्ताक्षरको तीन महिना हुन लाग्दा समेत आवेदन माग गर्न सकिरहेको छैन । इजरायल रोगजगारीका आकांक्षीहरु प्रक्रियाका बारेमा बुझ्न दैनिकजसो विभाग धाउने गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै विशेष गरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।

इजरायलको कृषि क्षेत्रमा काम तथा कृषि सम्बन्धी विभिन्न तालिम प्राप्त गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल गरेका भन्दै अध्यक्ष तिमिल्सिनाले उनीहरुले सिकेको सीप र भित्र्याएको प्रविधिले नेपालको कृषि क्षेत्रमा व्यवसायिकता र प्रविधिको प्रयोग बढाएको उल्लेख गरेका छन् । राजदूत गोडेरले इजरायलमा वार्षिक पाँच सय जना नेपाली ११ महिने कृषि तालिमका लागि जाने गरेको बताउँदै अब छिट्टै जेष्ठ नागरिकको स्याहारका लागि नेपालीहरु इजरायल जाने क्रम शुरु हुने जानकारी गराए ।

इजरायलमा विदेशी कामदारले पनि स्वदेशी बरारबरको सेवा सुविधा पाउने गरेका र कामदारबीच कुनै विभेद नगरिएको भन्दै राजदूत गोडेरले नेपाली कामदालाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिवद्ध रहेको जानकारी दिए ।

कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले दुवै देशले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा चासोका विषयहरुमा निकट रहेर सहकार्य गरिरहेको र दुई देशका संसदबीच समेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए ।

त्यसैगरी अध्यक्ष तिमिल्सनाले नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत, पर्यटन र कृषि, सूचना–प्रविधि, खानी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । भेटका क्रममा नेपालमा पर्यटकको रुपमा घुम्न आउँदा इजरायली नागरिक महिनौं बिताउने गरेको र कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको राजदूत गोडेरले जानकारी गराएको पनि निजी सचिवलायले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...