Thursday 10th September 2026

छोड्नेवाला छैन, अझै एक पटक लडाई लड्छु -प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उमेर ढल्किँदो भए पनि एक राजनीतिमा आफू चुप लागेर नबस्ने बताएका छन् । नयाँ साथीहरुसँग अघि बढ्दा पुराना साथीहरु छुट्दा आफू विस्तारै कमजोर हुँदै गएको महसुस भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले अबको कोर्सलाई सच्याउँदै क्रान्तिका लागि आफूलाई तयार गर्ने मनस्थितिमा आफू रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी निकट नयाँ नमूना स्वास्थ्यकर्मी संघको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एक पटक ‘करेक्सन’ सहित क्रान्तिमा जाने बताउँदै भने, ‘छोड्नेवाला छैन, अझै एक पटक लइाईँ लड्नेवाला छु ।’बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो धरातल र साथीहरु छुट्दा आफूहरु कमजोर भएको बताएका हुन् । ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि, यो गरे होला कि, त्यो गरे होला कि भनेर धेरै गरियो’, प्रचण्डले भने, ‘तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर देखिएका हौं ।’

जनयुद्ध शुरु गर्दा आफू ४२ वर्षको रहेको र अहिले ६६–६७ वर्षको भएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘माओले ७२ वर्षको उमेरमा साँस्कृतिक क्रान्ति गरेका हुन्, म पनि अहिले नै छाड्ने छैन, देश र जनताका लागि एक लडाइँ लड्ने छु ।’

उनले यसअघि माओवादी आन्दोलनबाट अलग भएका मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव र डा. बाबुराम भट्टराईप्रति संकेत गर्दै अब आफू आफ्नै खुट्टामा उभिने र धर्तीसँग जोडी र पुराना साथीहरुलाई एकतावद्ध गर्ने बताए । ‘आफ्नै धर्तीसँग जोडिने, आफ्नै खुट्टामा उभिने र आफ्नै पुराना साथीहरुलाई एकतावद्ध गर्ने, क्रान्तिकारी साथीहरुसँग भर पर्ने छौ’, उनले भने । उनले अब काठमाडौं भन्दा बाहिर केन्द्रीत भएर राजनीतिक सक्रियता बनाउने सोंचमा आफू रहेको पनि बताए ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...