Saturday 27th April 2024

नकचरो बामदेव – विचरा प्रचण्ड र माधव


तोयानाथ उपेक्षित – नेकपा नेता माधव नेपालको कुण्ठा र प्रचण्डको महत्वकांक्षाको सुमेरु पर्वतलाई उठाएर समुन्द्रमा खसाल्ने काम बामदेव गौतमले गरे भन्न कुनै राजनैतिक विश्लेषकका कुरा सुन्न पर्दैन । बामदेव नै नेकपा भित्रको झगडाका मुख्य सुत्रधार हुन ।
मिल्दै मिल्दै गएर आपसमा घुलित भएको पूर्व माओवादी र एमाले नेता कार्यकर्ताहरुलाइ लोप्पा खुवाउन बामदेवलाई सांसद हुनै पर्ने खटपटीले आज पाटी यस्तो अवस्थामा पुग्यो । पाटी अन्तरघुलित भएको कुरा यसरी पनि सिद्ध हुन्छ की मुख्य झगडीया नेता भनिएका ओली र प्रचण्डमा पूर्व अवस्थामा अलग अलग धारमा रहेका नेता बाँडिएको अवस्थाबाट पनि बुझ्न सकिन्छ । त्यही बामदेव अहिले पार्टी एकता जोगाउँछु वा दुवै पक्षलाई मिलाउँछु भन्दै हिडेका छन् । यो भन्दा निकम्मा नेता मुलुकमा अरु शायदै होलान । उनी त कस्तो कुरा गर्दैछन भने दक्ष प्रजापतिको टाउको काटेर कसैको अलाप र विलापमा महादेवले पुनः बोकाको टाउको ल्याएर जोडे जस्तै । न त्यो बोको भो न मान्छे ।

प्रम केपी ओलीलाई हटाएर अब देउवालाई प्रम बनिदेउ भन्न जाने प्रचण्ड माधवलाई उनीहरु को नैतिकता के हो भन्ने प्रश्न गर्न मिल्छ की मिल्दैन ? लड्डु खाएर मनाएको खुशी कसको लागि देउवाका लागि हो की भारतका लागि? किनकी प्रचण्ड-माधव त प्रम बन्ने होईन रहेछन । यो त सौताको रिसले पोईको काखमा पिसाव फेरे जस्तो भएन । यस्ता नेतालाई ईतिहासले कसरी मुल्यांकन गर्ला । नेपाली जनताले कस्तो बुद्धि र विवेक भएका नेता व्यहोर्न पर्यो ?

आफैले बनाएको प्रमलाई फालेर अर्को दलको नेतालाई प्रम बनिदेउ भन्न पुग्ने प्रचण्ड-माधवलाई जनताले दिएको म्याण्डेड यहि हो भनेर सोधे के जवाफ देलान ? अब खुल्ला किताव जस्तै भईसकेको छ की उनीहरु कसको ईशारामा र कुन उद्देश्यका साथ काम गरिरहेका रहेछन । कसका लागि यो लाजनिती ? संसद विघटनलाई अदालतले बदर गरेको १२ घण्टा नवित्दै प्रधानमन्त्री खोज्न हिडनु थियो भने ओली सरकार निरन्तर रहँदा नेकपालाई के घाटा थियो ? नेपाली जनता पनि बेखुशी थिएनन् । नेपाली जनताले त ओली सरकारको विघटन चाहेका थिएनन । वास्तवमा अदालतले हराई दिए पनि प्रम ओलीको कदम सही थियो भन्ने अबका गतिविधीले पलपल सावित गर्दै जाने संकेत देखिन थालिसक्यो । बास्तबमा उनको हार र जित जनताले मात्र गर्ने कुरा किमार्थ गलत थिएन ।

ओली सरकार विरोधी नाराजुलुस गर्ने क्रममा प्रचण्डको साथमा उभिएका उनका कार्यकर्ताले एमसीसीको विरुद्ध नारा लगाउँदा उनले रोके तर त्यही एमसीसीलाई हाउगुजी बनाएर प्रचार गर्न प्रचण्डले खटाएका भिम रावलहरु आजसम्म चुँ सम्म बोलेका छैनन । यो बिडम्वनापूर्ण कुरा हो । सवै कुरामा टिप्पणी गर्ने रावलले एमसीसीको विरुद्ध नारा लगाउँदा रोक्ने प्रचण्डको सार्वजनिक भिडियो नदेखेकै हुन त ? हिँजो किन उनी ओली सरकारको विरुद्ध घनघोर लडाई गर्न एमसीसीलाई हतियारको रुपमा प्रयोग गरे र आज किन प्रचण्डले रोकेको नाराका सम्बन्धमा अझै मौन छन ?

भारतीय संस्थापनका नजिकबाट अदालतको फैसलालाई लिएर उच्च खुशीमा व्यक्त भएका टिप्पणीहरु सार्वजनिक भईरहँदा कमरेड प्रचण्डले देउवा र जसपा समेत सँग मिलेर सरकार बनाउदा भारतलाई पनि सहज हुन्छ भने यो संयोग मात्र पक्कै होईन र भूलबस भएको अभिव्याक्ति पनि होईन । के थियो डिजाइन भन्ने कुराको भेद खुल्न थालेको चाही पक्का हो । यसैबीच झलनाथको भारत यात्रा, प्रचण्डको भारतसँगको हारगुहार र विमारीको बहानमा पेट उपचार नेपालमा हुनै नसक्ने झै गरी बहाना बनाएर अस्पतालको बेडमा बसेको फोटो हाल्दै चाजोपाजो मिलाउन दिल्लीमा बसेका डाक्टर भट्टराई सवै बुख्याचा शिवाय के हुन सक्लान ? क्रमबद्ध डिजाइनका शिलशिलेवार कडीहरु जोडिदै गएको देखिन्दैछ ।

ओली प्रम हुदा किन र कसरी भारतलाई असहज भएको थियो ? कुरा प्रष्ट हुदैन र ? नक्सा पास गरेपछि ओली विरुद्धमा ‘गर कि मर’ को लडाई गर्न कस्सिएका प्रचण्ड माधवले कसको हित र खुशीका लागि काम गरिरहेका रहेछन ? आरोप होईन तथ्य र घट्नाक्रम आफैमा ऐना जस्तै छ । को राष्ट्रवादी को राष्ट्रघाती अझै कसैलाई दुविधा छ भने उसलाई बुझाउन कसैले पनि सक्दैन । यहि बुझेर जनादेशमा जाने केपी ओलीको फैसला जनताको नजर बाट हेर्दा एकदमै सहि थियो, एक सय प्रतिशत जायज थियो ।

फेरी पनि प्रम ओलीले राजीनामा दिन हुँदैहुँदैन । किनकी उनको विकल्प प्रचण्ड वा माधव हुन भन्ने देखिएन । अप्ठयारो त नेकपा विधिवत रुपमा नफूटेसम्म अविश्वासको प्रस्ताव आउन सक्ने कानूनी अडचन पनि देखियो । कसैले १३ दिनका लागि केपी ओली प्रम हुन भन्दै दिन गन्दैछन भने त्यो कसैका बाउको क्रियापुत्री मात्र हो जसले कर्तव्य, पृत्री सम्मान र भक्तिभावले नभई १३ दिनको बाध्यतामा काम गरिरहेको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्दा भावी प्रधानमन्त्रीको नाम समेत पेश गर्न पर्ने कानूनी प्रावधानका कारण प्रचण्ड-माधवलाई झनै अप्ठयारो ठाउँमा पुर्याएको छ । उनीहरुले हिँजोका दिनमा पेश गरेको अविश्वासलाई निरन्तरता दिने हो भने प्रचण्डको नाममा कांग्रेसले समर्थन गर्न पर्दछ त्यो संभव छैन । त्यसलाई फिर्ता लिएर अर्को अविश्वासको प्रस्ताव पेश गर्न नेकपा औपचारिक रुपमा फुटेको हुन पर्दछ । अब देउवालाई प्रम बनाउने हो भने कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउन पर्दछ तर अल्पमतले बहुमतको सरकार रहेसम्म त्यसो गर्न सक्दैन । अन्ततः कुरा उही हो की ओलीको पल्ला नै भारी छ । ओलीले राजीनामा नदिए सम्म कसैको दाल गल्दैन । पार्टी फूटको घोषणा गर्न अब प्रचण्ड माधव नेपाल नै बाध्य भए कुरा अलग हो । नेकपाको विधानले ओलीको सहमती नभए सम्म आगामी महाधिवेशन सम्म प्रचण्ड माधब सँग पार्टीमा निर्णय गर्ने विधानले पनि दिदैन ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...