Sunday 17th May 2026

प्रचण्डको भनाइप्रति ओलीको कटाक्ष : नरभक्षी आन्दोलनका दिन गए


प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले शुक्रबार राजधानीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो बताए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अब मांसाहारी आन्दोलनले मात्र नहुने बताएकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् ।  ‘मांसाहारी आन्दोललने हुँदेन भनेर उहाँले भनेको के हो ? के चिकेन चिल्ली खान खोजेको हो ?’, प्रश्न गर्दै ओलीले भने, ‘नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन । नेपाल शान्तिपूर्ण छ । नेपाल अशान्तिको भुमरीमा जान सक्दैन ।’

बन्दको नाममा गरिब जनताको सम्पत्तिमा नोक्सान भए सरकारले हेर्ने ओलीले बताए । बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्ताललाई ओलीले कथित नेपाल बन्दको संज्ञा दिएका हुन् । ‘गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ’, ओलीले भने, ‘इन्सुरेन्सलाई क्षतिपूर्ति दिन लगाउँछौँ भएन भने गरिबलाई हेर्ने सरकार छ । गरिबलाई माया गर्ने सरकार छ ।’

इतिहासकै ठूलो सभामा भएको दाबी 

प्रधानमन्त्री ओलीले दरबारमार्गमा भएको सभालाई इतिहासकै ठूलो भएको दाबी गरे । ओलीले सभामा आउन नदिने प्रचण्ड–नेपाल समूहले कथित नेपाल बन्द गरेर तर्साए पनि सभास्थलमा मान्छे नअटाएको बताए ।

‘सभामा उपस्थित हुन नदिन बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न कसैले सकेनन्’, ओलीले भने ।  इतिहासकै ठूलो सभा भएकाले उनले दायाँ सञ्चयकोष, बायाँ जयनेपाल हल, घण्टाघरसम्म पनि मासिन अटाउन नसकेको दाबी गरे ।

सभालाई सम्बोधन गर्दै ओलीले देश सुरुङ मार्गमा प्रवेश गरेको दाबी गरेका छन् । उनले थानकोटबाट नौबिसेसम्मको सुरुङ निर्माणको काम थालिएको बताए । ओलीले यो काम छिट्टै सकिने दाबी गरे ।

‘हामीले नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं’, ओलीले भने, ‘थानकोटबाट नौबिसे सुरुङ खन्ने काम सुरु भएको छ, त्यो यहाँहरुले देख्नुभएको छ ।’

आफू नेतृत्वको सरकारले विकास निर्माणका धेरै काम गरेको दाबीसमेत ओलीले गरेका छन् । उनले तीन वर्षमा ६ हजार किलोमिटर सडक कालोपत्रे भएको बताए ।

ओलीले अहिले सडकमा सडक बालक नभएको दाबीसमेत गरे । उनले सरकारले तुइन विस्थापित गरेको, जलविद्युत आयोजना निर्माण गरेर सवस्टेसनको निर्माण सकेर उद्घाटन भएको बताए ।

सरकारका कामको विवरण सुनाएका ओलीले केही दिनमै रेल चल्ने बताए । उनले भारतसँग रक्सौलकाठमाडौं रेलमार्गको लागि सम्झौता भएर डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनले पूर्वपश्चिम रेलमार्ग बनाउने र चौडा सडक बनाउने काम भइरहेको उल्लेख गरे ।

संघीय लोकततान्त्रिक गणतन्त्र तलमाथि हुँदैन 

ओलीले सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र तलमाथि नहुने बताए । उनले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ भन्ने हल्ला गर्नेको  पछाडि नलाग्न आग्रह गरे । यो भनाइप्रति उनले आश्चर्य व्यक्त गरे ।

‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो’, ओलीले भने, ‘त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे !’

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...