Wednesday 19th August 2026

राष्ट्रपति देशको राष्ट्रपति हो कि नेकपाको एउटा गुटको ? -गगन थापा, नेता-नेपाली कांग्रेस


तीतोपाटी – नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले बडामहारानी बन्न खोजेको आरोप लगाएका छन् ।

‘म यो देशमा राष्ट्रपति संस्था ल्याउन लागेको सदस्य हुँ । तर, आज मलाई आफ्नो राष्ट्रपतिको भूमिकाले लज्जित बनाउँछ । हामीले नेपालको राष्ट्रपतिलाई हाम्रो अभिभावकभन्दा माथि राखेका छौँ । तर, उहाँको भूमिकाले के देखाउँछ ? उहाँ नेपालको राष्ट्रपति हो कि नेकपाको एउटा गुटको गुटपति ?’ थापाले प्रश्न गरे ।

नेता थापाले प्रधानमन्त्री ओलीले किर्ते काम गरेकाले उनको नाम किर्तेप्रसाद ओली भएको टिप्पणी गरे ।

‘अध्यादेश सिफारिस गर्दा किर्ते, संसद् विघटनको सिफारिस गर्दा किर्ते, अरू के–के काममा किर्ते भएको छ ? अब केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, किर्तेप्रसाद ओली राख्यो भने उपयुक्त हुन्छ,’ उनले भने ।

ललितपुरको महांकाल गाउँपालिकामा भएको कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले सरकारले खोप किन्न पैसा नभएको भन्दै चन्दा मागेकाप्रति आपत्ति जनाए ।

‘अहिले तीन करोड नेपालीलाई पहिले चाहिएको खोप हो, खोपका लागि कम्तीमा ४०–५० अर्ब चाहिन्छ, तर सरकारले सार्वजनिक सूचना जारी गरेर भन्छ, मेरो खुत्रुके रित्तो छ, खोप किन्न पैसा देऊ । अनि अर्कोतिर वेला न कुवेला ४०–५० अर्ब खर्च हुने चुनावको घोषणा गर्छ । र पैसा बगाउन थालेको छ । खोप किन्न पैसा छैन भने चुनाव गर्न ४०–५० अर्ब कहाँबाट आउँछ ?,’ थापाले प्रश्न गरे ।

नेता थापाले तीन वर्षअघि प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई शुभकामना दिएको सम्झिएँ ।

‘तीन वर्षअगाडि संसद्मा उभिएर प्रधानमन्त्रीलाई बधाई दिँदै गर्दा मैले भनेको थिएँ, ‘आजसम्म नेपालमा कुनै पनि प्रधानमन्त्रीले नपाएको अवसर तपाईंले पाउनुभएको छ, तपाईको कार्यकाल सुखद रहोस् भन्ने कामना गर्छु । तर, घोषणापत्रमा सयौँ वाचा छन्, ती वाचाचाहिँ म सम्झाइरहन्छु । तर, त्यहाँ मेरो उपहास गरियो,’ नेता थापाले भने, ‘मैले सोचेको थिएँ, चालक नै मात्रै त फेरिएको हो, बाटो छ, गाडी छ, उज्यालो छ, गडबड नगरी गुडाए त गन्तव्यमा पुगिहालिन्छ नि, तर होइनरहेछ, आज ती चालकले बीच बाटोमै गाडी नै अलपत्र पारिदिए ।’

नेता थापाले प्रतिनिधिसभा विघटन असंवैधानिकभन्दा पहिले अनधिकृत भएको बताए ।

‘ओलीले गरेको यो काम असंवैधानिक हो । तर, त्योभन्दा पहिले त्यो अनधिकृत हो,’ उनले भने, ‘संविधानमा संसद् विघटन गर्ने कुरा कल्पनै गरिएको छैन । यो नजानेर नलेखिएको होइन, जानेर नलेखिएको हो । विगतबाट सिकेर गरिएको हो । संसदले सरकार दिन नसक्ने अवस्थामा मात्रै संसद् भंग गर्ने व्यवस्था हाम्रो संविधानमा छ । तर, यहाँ त बहुमत भएको प्रधानमन्त्रीले संसद् भंग गर्नुभएको छ, यो असंवैधानिक मात्रै होइन, अनधिकृत काम हो ।’
-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...