Wednesday 19th August 2026

रेशम चाैधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतद्वारा सदर


तीतोपाटी – पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले रेशम चाैधरी लगायत ७  जना विरूद्ध जन्मकैदको सजायँ सुनाएको जिल्ला अदालतको  फैसला सदर गर्दै फैसला सुनाएको हो ।

उच्च अदालतले थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको छ । यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

जन्मकैदको सजाय हुनेमा लक्ष्मणसहित रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।

सो घटनामा कैलाली जिल्ला अदालतका तत्कालीन न्यायाधीश पर्शुराम भट्टराईको इजलासले २०७५ फागुन २२ गते रेशमसहित १० जनालाई जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो । घटनामा संलग्न भनिएका श्रवण चौधरी नाबालक भएकाले उनलाई भने आधा कैद अथवा १० वर्ष मात्रै कैदको फैसला भएको थियो ।

लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीत बहादुर डँगौरा, प्रेम बहाखुर चौधरी, किसनलाल चौधरी, रामप्रसाद चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु (चौधरी), विश्राम चौधरी र चुन्नीराम चौधरीलाई तीन वर्षको कैद सजाय भएको थियो ।

२०७२ साल भदौ ७ गते टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम चौधरी सहितका ११ जनाको तर्फबाट उच्च अदालत दिपायलमा २०७६ सालको वैशाखमा पुनरावेदन परेको थियो ।

प्रतिवादी रेशमलाल चौधरीसहितको तर्फबाट अधिवक्ता गम्भीर सिँह ऐर, गजेन्द्र बहादुर केसी, गंगाराम पाध्याय, नाथुराम महतो र काठमाण्डौंबाट आएका २ जना गरी ६ जना अधिवक्ताले बहस गरेका थिए ।

मुद्दामा वादीका तर्फबाट वरिष्ठ अघिवक्ता राजेन्द्र सिँह साउद, अधिवक्ता विष्णु भट्ट, सरकारी वकिल टेकबहादुर थापा सहितका तीनजना गरी पाँचजनाले बहस गरेका थिए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

प्रतिकृयाहरू
...