Wednesday 21st October 2026

भिजिट भिसामा खाडी आउन लागेका ८४ जना नेपाली विमानस्थलबाट फिर्ता


तितोपाटी- गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सेटिङमा नेपाली कामदारलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको भन्ने गुनासो आएको भन्दै छानबिन शुरु गरेपछि विमानस्थलले सोमबार बिहान २ बजे ८४ जना नेपालीलाई फिर्ता पठाएको छ ।

फ्लाई दुबई र नेपाल एयरलाइन्सबाट भिजिट भिसामा खाडीका बिभिन्न देशहरुमा जान लागेका ती नेपालीलाई फिर्ता गरेपछि नाराबाजीसमेत भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मानव तस्करहरुले विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर खाडी मुलुक पठाउने गर्दा हजारौं नेपाली अलपत्र परेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेका थिए।

त्यही गुनासोका आधारमा गृह मन्त्रालयले विमानस्थलमा भएको गडबढीका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो। त्यसपछि नै विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने नेपाली कामदारलाई एकैपटक फर्काइदिएको हो ।

विमानस्थलमा रहेका मानवतस्करले भिजिट भिसामा त्यता जान लागेका नेपालीलाई नै उचालेर नाराबाजी गर्न लगाएका थिए । नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई फिर्ता पठाएको थियो ।

यसअघि सेटिङ गर्दै आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारीको मिलेमतोमा नेपालीहरु कामका लागि भिजिट भिसामार्फत खाडी मुलुक जाने गरेका थिए ।

अहिले विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण अवैधरुपमा बसेका विदेशी कामदारलाई धमाधम सम्बन्धित देश फर्काउन थालेपछि नेपाली दूतावासहरुले अवैधरुपमा खाडी मुलुक प्रवेश गर्ने नेपालीलाई रोक्न सरकारलाई आग्रह गरेको थियो ।

विमानस्थलस्थित अध्यागमन कार्यालयले भने कामको खोजीका लागि भिजिट भिसामा नेपालीको ठूलो संख्या दुबई र कतार जाँदै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई फिर्ता पठाएको दाबी गरेको छ । विभिन्न म्यानपावर कम्पनीबाट सेटिङमा जान लागेका ती नेपाली कामदारलाई अध्यागमन कार्यालयले फिर्ता गरेपछि उनीहरु अहिले शक्ति केन्द्र धाउन थालेका छन् ।साभार नेपाल समाचारपत्रबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...