Wednesday 24th June 2026

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन


नेपाललाई  समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको  ज्ञान, सीप र प्रविधिलाई नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि सदुपयोग गर्ने उद्देश्यसहित शुक्रबारदेख दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन सुरु हुने भएको छ।  आइतबारसम्म चल्ने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष कुमार पन्तले  जानकारी दिए  । उनका अनुसार सम्मेलनको उद्घाटन भर्चुअल माध्यमबाट शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहने उनले जानकारी दिए ।

साथै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ ।  सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिने तय भएकाे महासचिव हेमराज शर्माले जानकारी दिए ।‘विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ’,उनले भने, ‘संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।’
गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा हुने  सम्मेलनमा काठमाडौँ विश्व विद्यालयको सहकार्य रहनेछ भने परराष्ट्र मन्त्रालय,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा  प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता  रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरु सहभागी हुने प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए ।

सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने छन् ।  यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना  र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरु  माथि पनि छलफल हुनेछ ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा  नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान  लगायतका सत्रहरु समावेश गरिएका छन् । यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि , वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरुमा विभिन्न विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्  । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरिएको थियो ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...