Sunday 19th May 2024

कविताः बिशाल म भित्रको तुच्छ म -हरि शर्मा (गलकोटे कवि)


नमस्कार पनि एक हातले फर्काउने म,
नपाउँदा रिसले बम्किने म,
सल्लाह लिनपनि खुवैसित डराउने म,
होइन्छ कि आफू सानो भनी “जान्दछु म” भनी कराउने म,
कुकुरले मालिकको आडमा बसी भुकेको देख्दा,
कुकूरको मालिक सम्झी खुबैसित डराउने,चिच्चाएरै कराउने म,
बाँदरले घर भत्काउन खोज्दा बाँदर लघार्न तम्सिने म,
सुँगुरको अगाडि पनि मोती मिल्काउन खोज्ने म,
भ्यागुता देख्दा आफू पनि अरुको खुट्टा तानौं-तानौं महशुस गर्ने म,
आफूले छरेको बीज चराले खाइदिँदा चरा धपाउन दौडने म,
कुरौटपुर सागरमा पौडिने म,
बिज्ञान नै ठुलो भनेर खुबैसित कुर्लने म,
वर्षामासको खहरे सरी उर्लने म,
मान्छे-मान्छे बीच राज्नितिको परखाल लगाउने म,
पैसा सबैथोक हो भनी साथिभाइ तथा आफन्त भुल्न खोज्ने म,
आफ्नो स्वास्थ्य बेचेर पनि पैसा बटुल्न खोज्ने म,
आफू नाचेको ठाउँमा कोही धोती फुकालेरै नाङ्गै नाच्न तम्सिँदा,
नाच्नेलाई धकेल्न खोज्ने म,
सबैजना मेरा मित्र हुन भनी हुरुक्कै गर्ने म,
बडप्पन-मपाई,घमण्ड-दम्भ, इर्श्या-डाह, चाकडी-चाप्लुसी, छुच्याइँ-छुल्याइँ, छल-कपट, आरिस-रिस,लोभ-मोह यिनीहरु सबैको अत्यन्तै प्रिय पात्र म,
खै एक्कासि के भो कुन्नि ?
त्यो धन आज पत्थर वा कागत सरी बनेको देख्दा,
आफ्नै ठानेको साथीले मर्कनेगरी खुट्टा तानेको देख्दा,
गोली बिनाको बन्दुक बोक्ने शिकारी झैँ अत्यन्तै थकित आफू बनेको देख्दा,
धिक्कार! मिथ्या भ्रम!
धन्य कोरोना तिम्रो बरदान!!!
म भित्रको सानो म कता हरायो कता,
कुकूरको मालिकभन्दा ठूलो आफ्नो सच्चा मालिक पछि बसी रक्षा गरेको चिन्न सक्दछु म,
अजर अमर शक्तिलाई छुट्ट्याउन सक्दछु म,
बाँदर लघार्न छाडी आफ्नो घर बलियो पार्नमा ब्यस्त छु म,
इस्टमित्र को हुन भनी खुट्ट्याउन सक्ने भएको छु म,
सच्चा अनि कच्चा मित्र छुट्टाउन सक्दछु म,
दुधमा मिसिएको बिष पनि छुट्याउन सक्दछु म,
उपकार- परोपकार, परार्थ-निस्वार्थ, दया-माया, मुस्कान-हिसी, सौम्यता- सुन्दरता, मातृप्रेम-भातृप्रेम, जननी-जन्मभूमी,शान्ति-कान्ती यी सबैको बीचमा निर्धक्क नाच्न सक्ने भएकोछु म ।
म भित्रको तुच्छ म कता हरायो खै ? तर कुनै खेद छैन मलाई ।

हरि शर्मा(गलकोटे कवि)
गलकोट- बागलुङ, नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...