Friday 13th November 2026

तितो सत्य (छन्द कविता) -हरि शर्मा (सुबेदी)


अहम ताल बजायो भने घमण्ड नाच्दछ।
मपाईं भाका गाएमा इर्श्या कम्मर भाँच्दछ।
रिपुले मौका हेरेर बस्छ झुक्क्याई डस्दछ।
अरुले चाल दिएमा चम्चा मुखमा पस्दछ ।१।

भेडाको हुल हुलकै पछि लागेर मर्दछ।
कुत्ताको बाङ्गो पुच्छर सदा बाङ्गो नै पर्दछ।
पुराण सुनी भालुले मकै सखापै गर्दछ।
माहुरी सदा भलाई मात्र गरेर मर्दछ ।२।

सुतेको सिँह जिस्काए झम्टा आफूमै पर्दछ ।
सर्पले दूध पिएर पनि बिष नै झर्दछ ।
कपिको हुल बिगार्न मात्र अगाडि सर्दछ ।
सत्यको साथ लागेको जन अकेलो पर्दछ ।३।

फलाम काटी फलामलाई फितलो पार्दछ।
भएको बल फलामसँग खियाले झार्दछ।
निर्दयी घात आफन्त साथ आफन्त गर्दछ।
रामायणमा रावणलाई भाइले मार्दछ ।४।

हातले दियो खुट्टाको सास्ती धनले गर्दछ।
धनको बात आफन्त साथ अफ्ठ्यारो पर्दछ।
कलिको मान्छे धनको पछि लागेर मर्दछ।
मान्छेको मती धनको सती खरानी पर्दछ ।५।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, भाइचारा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पूर्वेली टाइगर फुटबल क्लब, नेपाल–कुवेत को आयोजनामा “प्रथम…

७५३ वटै पालिकाबाट जग्गा प्रशासन सेवा : नागरिकलाई सहजता, तर सम्पत्तिको कानुनी सुरक्षामा प्रश्न काठमाडौँ । सरकारले आगामी एक महिनाभित्र…

खाडी सहयोग परिषद् (जीसीसी) का ६ सदस्य राष्ट्रले कुवेतमा संयुक्त सैन्य कमान्डको अग्रिम मुख्यालय स्थापना गर्ने र त्यसमा आवश्यक सैन्य…

प्रतिकृयाहरू
...