Tuesday 21st May 2024

पहिरोको कारण बाग्लुङ, रूकुम पश्चित, कालीकोट र दार्चुलामा गरि ६ को मृत्यु, ७ बेपत्ता


तितोपाटी – भिषण वर्षापछि देशका बिभिन्न जिल्लामा आएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। सोमबार राती देखिको अविरल वर्षाको कारण कतिपय ठाउँमा सडक पनि अबरूद्ध भएको तथा निरन्तर वर्षा भइरहेकोले उद्दारमा समेत कठिनाइ भएको छ ।

सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले बागलुङको तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका घर पुरिँदा उनका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् । त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरि रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले एक घर बगाउँदा २ जनाको मृत्यु भएको छ । रातभर परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको हो। पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जसवीरकी श्रीमती ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी ५ वर्षीया कोपिला र ३ वर्षीया रितु कामीको उद्धार गरिएको छ ।

त्यस्तै कालिकोटकाे रास्काेट नगरपालिका- १ वड्डालामा पहिराे जाँदा जयबहादुर शाहीसहित ५ जना बेपत्ता भएका छन् भने शान्नी त्रिवेणी गाउँपालिका- ७ मा टेकबहादुर टमटाकाे घर पहिराेले पुरिँदा पानी परेपछि ओत लाग्न बसेकी वर्ष १४ की बेलपुरा शाहीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पहिराेकै कारण रास्काेट नगरपालिका- १ की १८ वर्षिया यशाेदा टमटा र ८० वर्षिया मयसरा टमटा घाइते भएका छन् साथै पहिराेले कर्णाली करिडोर अन्तरगत पर्ने फुगाड बेलीब्रिज पुल समेत बगाएको छ ।

उता दार्जुलामा दार्चुला-टिंकर सडक भत्किएर पहिरो जाँदा पहिरोमा परी एक दम्पत्ती बेपत्ता भएका छन् । मंगलबार बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा जोशी बेपत्ता बनेका हुन् । प्रहरीका अनुसार घरमै रहेका २१ वर्षीय छोरा सुनील जोशी भने पहिरो खसेको समयमा भाग्न सफल भएकोले सकुशल छन् । पहिरोले एउटा भैसी र चार वटा बाख्रा पनि पुरिएका छन् ।


सम्बन्धित शीर्षकहरु

सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।…

एजेन्सी- इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले…

इरानी राष्ट्रपति इब्राहिम रायसीको ज्यान गएको बेल–२१२ हेलिकप्टर दुर्घटनाको खबर अहिले चर्चामा छ । रायसीसँगै इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहियान र…

प्रतिकृयाहरू
...