Sunday 28th June 2026

कुवेतमा ईलिगल खुलेको कुरा के साँचो हो ?  


तोयानाथ उपेक्षित, अलिक पहिले सम्म त नेपाली राजदुतावास कुवेतले यहाँको सरकारले जारी गरेका सवै जनसरोकारका सूचना र कोभिड १९ सँग सम्बन्धित जनचेतनाका सूचनाहरुलाई नेपालीमा अनुबाद गरेर दुतावासले आफ्नो फेसबुक वालमा प्रकाशित गर्ने गरेको पाईन्थ्यो । तर जब कुवेत सरकारले ईलिगल खोलेको सूचना जारी गर्यो लगभग एकसाता हुन लाग्दा पनि नेपाली राजदुतावास कुवेतले केही बोलेको छैन ।

कुवेत स्थित नेपाली नियोगले सो सम्बन्धमा कुवेत सरकारबाट कुनै जानकारी नपाएर नै हो त ? थाहा नपाएर नबोलेको भए आशा गरौ छिट्टै त्यो प्रतिक्षाको घडी को अन्त्य हुनेछ । तर थाहा पाएर पनि मौन बसेको हो भने दुतावासले प्रष्ट पार्न पर्यो अप्ठयाराहरु के हुन ? केही नबोल्न त कहाँ पाईन्छ होलार नेपाली राजदुतावास ?

थाहा छ हामीलाई नेपाली राजदुतावासले कुवेत सरकारले विपदका बेलामा दिएको ईलिगलका लागि देश छोड्न पाउने सुविधा आफ्ना नागरिकसम्म पुर्याउन सजिलो छैन । संसार नै एक हिसावले लक डाउनमा छ । नेपाल पनि लक डाउनकै अवस्थामा छ । यहाँ बर्षौ देखि लुकिछिपी बसेका बेहिसाव नेपाली नागरिकहरुलाई नेपाल पठाउन पाउने यति धेरै सरल अवस्था र सुविधा दिएको पनि यहि अप्ठयारामा ईलिगलहरुको सास्ती समाल्न अप्ठयारो हुने भएर नै होला । हिजो का दिनमा पनि एम्नेष्टि खुलेकै हुन तर यति सुविधा दिने गरी खुलेका थिएनन । भोलीका दिनमा पनि आजको जस्तो छुट नहोला तर के गर्ने ? जान पाउने भनेर मात्र भएन । तीनलाई नेपाल सरकारले पनि ग्रहण गर्न परर्यो ।

यो पनि बुझिन्छ की त्यसरी कुवेतमा ईलिगल हुनेहरुलाई दुतावासमा बोलाएर कन्सुलर सेवा दिन राजदुतावासका कर्मचारीले सहज मान्ने अवस्था पनि छैन । महामारी बढिरहेको बेला ज्यान सवैको उही हो, डर सवैलाई हुन्छ । अनि यो पनि प्रष्ट कुरा के हो भने बस र ट्याक्सी समेत नचलेको अवस्थामा दुला र कुनामा छिपेर काम गर्नेहरु कहाँ जाउन ? कसरी जाउन ? उनीहरुलाई सहजीकरण कसले गरिदियोस । त्यसमा पनि अप्ठयारा धेरै छन ।

मौका हेर्दा कति लोभ लाग्दो छ भने कसैले पनि जरिमान तिर्नै पर्दैन । फेरी अनुकुल हुदाका बेला उनीहरु कुवेत फर्किन पनि रोक लगाईएको छैन । यति मात्र होईन जहाँजको भाडा समेत तिर्न नपर्ने गरी देश छाड्न पाउने सुविधा ईतिहासमा शायदै पहिलो पटक होला ।

हो कुवेतमा हजारौ ईलिगल भएर बसेका नेपाली छन । तर उनीहरुले यसपटक नेपाल जान पाउने मौकाको सदुपयोग गर्न सक्ने सम्भावना न्युन छ । यसकारण पनि यो भन्न सकिन्छ की अहिले सम्म नदिएको यत्रो सुविधा कुवेत सरकारले दिदा समेत नेपाली राजदुतावास कुवेतले केही बोल्न उचित ठानिरहेको छैन । शायद यो आरोप अलिक छिटो लगाएको भए वा असत्य ठहरिए माफ पाउ । यति लेख्ने मौका दिने त दुतावास नै हो फेरी पनि । हुन सक्छ राजदुतावास गहिरो अध्ययन र छलफलमा जुटेको होस । त्यसो हो भने यसै साता भित्र केही खुश खबर पाईएला ।

ईलिगल नेपालीहरुलाई जहाँजको सुविधा, स्वास्थ्य चेक जाँचको प्रबन्ध मिलाएर कुवेतले नेपालसम्म छाड्ने संभावना सहितको अवस्था हो भने नेपाली राजदुताबास र गैह आवासिय सँघ समेतले होमवर्क किन नगर्ने ? त्यसपछि त नेपालको काम भनेको उनीहरुलाई ग्रहण गरेर चौध दिन क्वारेन्टाईनमा राख्ने मात्र रहन्छ । यसका लागि सरकारले नेपालका एक दुई दर्जन गेष्ट हाउस भाडामा लिएर राख्न पर्ने हुन्छ । त्यसको खर्च पनि सरकारले व्यहोर्न पर्दछ भन्ने छैन । जान चाहानेहरुलाई यहीबाट उक्त खर्च व्यर्होन सक्ने नसक्ने टुंगो गरे पनि हुन्छ, या त दाता र सहयोगीहरुसँग त्यसको लागि आउने खर्च जोह गर्न आव्हान गरे पनि केही त जम्मा हुन्छ । तर यो मौकालाई उपयोग नै नगर्ने वा के गर्न सकिएला भनेर कुनै कसरत नै नगर्ने कुराले भने अविभावकत्व र दायित्वको प्रश्न उठन सक्दछ । राज्य भनेकै अप्ठ्यारामा पर्दा चाहिने हो ।

खैर जे होस, अधिकांश देशका दुतावासहरु ईलिगलहरुका लागि दिएको स्वर्णीम अवसरको उपभोग गर्न लागि परिसकेका छन । उनीहरुको सरकारलाई  पनि नेपालको जस्तै समस्या होला । उनीहरुका दुतावासहरु पनि हाम्रो दुतावास जस्तै चिन्तित नै होलान । हामी उनीहरु भन्दा हरेक हिसावले कमजोर छौ होला तर त्यसको मतलब हामीले मौन भएर टुलुटुलु हेर्ने होईन । सकिन्छ केही गर्न कोशिष गरौं , सकिन्न प्रष्ट बताई दिऔं र भनौ यो बेलामा नेपाल सरकार वा दुतावासले केही गर्न सक्दैन । त्यसो त नेपाली राजदुतावासलाई पनि यो मौकाको कति फाईदा उठायौ भन्ने प्रश्न कुवेत सरकारले पछिल्ला दिनमा गर्दो हो ।

राजदुतावास बोल्न परयो । अहिले सयौको संख्याले आफ्ना नजिकका मानिसहरुलाई फोन गरिरहेका छन र सोधि रहेका छन । तर कसैले जवाफ दिने अवस्था देखिदैन । राजदुतावासले नबोले सम्म हामीले बोल्ने कुरा पनि आउदैन ।  यसर्थ हे नेपाली राजदुतावास केही त बोलिदिनुहोस् । हामी बुझ्दछौ तपाईले भन्नु पर्यो, बोल्न पर्यो । हामी खबर दिन्छौ ती नेपालीहरुलाई की यसपाली दुलैमा बसिरहनुहोस् बाहिर आगो लागि रहेको छ ।


सम्बन्धित शीर्षकहरु

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

– आकर्षक छुट र प्रविधिसम्बन्धी अन्तरक्रियात्मक अनुभवहरू सहित लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतीक्षित वार्षिक प्रविधि प्रवर्द्धन कार्यक्रम “लेट्स कनेक्ट” (मोटोरोला प्रायोजित)…

ट्राफिक प्रहरीले कालो सिसा (dark tinted glass) प्रयोग गर्ने सवारीसाधनमाथि देशव्यापी अभियान सञ्चालन गर्दै ५७ वटा सवारीसाधनलाई कारबाही गरेको छ।…

प्रतिकृयाहरू
...