Monday 17th August 2026

कोरोना संक्रमण बढे पनि रोकिएन खाडी जाने युवाको संख्या


तितोपाटी- पर्साका रञ्जितकुमार खाङ सोमबार विमानस्थलमा भेटिए। रोजगारीका लागि कतार हिँडेका उनलाई अहिले विश्वमा संक्रमण बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) को भन्दा पनि कसरी कमाउने र परिवार पाल्ने भन्ने चिन्ता छ। कोरोना संक्रमण बढ्दै गए पनि भाइरससँग डराएर घरै बस्ने अवस्था कहाँ छ र उनको? ‘मरिने रैछ भने नेपालमै पनि मरिन्छ, के गर्नु भिसा अहिल्यै लाग्यो। फेरि कमाउनै पर्‍यो भनेर हिँडेको म त‚’ खाङ सुनाउँछन्।

खाङजस्तै सर्लाहीका हरिदेव रायको कथा पनि उस्तै छ। कोरोनाको त्रास फैलियो भनेर ढुक्कसँग बस्ने अवस्था कहाँ छ र उनमा? सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भेटिएका उनी कुवेत हिँडेका हुन्।

‘भाइरससँग डरायो भने यता पेट भोकै हुन्छ। आफूमात्र भए त हुन्थ्यो पुरै परिवार आफ्नै भरमा छ। भोकले मर्नुभन्दा बरु रोगले मरियोस्‚’ राय सुनाउँछन्। उनलाई कोरोना संक्रमणबाट सजग हुनेबारे जानकारी पनि छ। उनी भन्छन्, ‘संक्रमण फैलियो भने सोहीअनुसार गन्तव्य मुलुकले सुरक्षाको उपाय पनि अपनाउला।’

पछिल्लो समय खाडीलगायतका विश्वका विभिन्न मुलुकहरुमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ। नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मुलुक दक्षिण कोरिया, चीन, कतार, जापान, कुवेतलगायतका विभिन्न मुलुकमा कोरोना संक्रमण बढिरहेको छ।
इरान, इटालीलगायत विभिन्न युरोपियन मुलुकहरुमा पनि कोरोना त्रास बढ्दो छ। तर नेपाली कामदार रोजगारीमा जानैपर्ने बाध्यता छ। कोरिया उडान केही समयका लागि सारिए पनि अन्य मुलुकमा रोजगारीका लागि जाने कामदारहरु त्रास मोलेरै गइरहेका छन्। सरकारी अनुमानअनुसार विश्वका विभिन्न मुलुकमा करीब ४० लाख नेपाली युवाहरु कार्यरत छन्।
आफन्तहरु बढी त्रासित
साउदी हिँडेका श्रीमान राजकिशोर परियारलाई बिदाइ गर्न काभ्रेकी पुजा परियार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा पछ्यौरीले आँसु पुछ्दै गरेको अवस्थामा भेटिइन्। उनका श्रीमान् राजकिशोर पनि पहिलो पटक वैदेशिक रोजगारीमा जाँदैछन्। कोरोनाको संक्रमण बढिरहेकै बेलामा उहाँको भिसा आयो, खाडीमा कोरोनाको डर छ भन्छन्, यहाँ त यस्तो डर छ। यतिबेलै आफ्नो देश छाड्नुपर्ने के गर्नु….।’ उनको गला अवरुद्ध भयो। राजकिशोर प्रस्थान कक्ष प्रवेश गरे। देखिउन्जेलसम्म पुजाले बाहिरैबाट हेरिरहिन्।
कतार हिँडेका भाइलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएकी चितवनकी शर्मिला मुखिया निकै त्रसित मुद्रामा थिइन्।
‘कतारमा कोरोना संक्रमण बढ्दै गएको छ रे। केही मान्छेहरुले ज्यान गुमाइसके भन्ने पनि सुनिन्छ। यतिबेला नजा भनेको भिसा यतिबेलै लागेछ। एकदम चिन्ता लागेको छ।’ उनी सुनाउँछिन्। भाइको दिउँसो एक बजेको फ्लाइट थियो। उडान समयको एक घण्टा बाँकी छँदासम्म उनी भाइलाई सजग रहन सम्झाइरहेकी थिइन्, ‘भिडभाडमा कतै नजानु। मास्क लगाएर हिँड्नु। अब हामीलाई हाम्रोभन्दा तेरो चिन्ता हुन्छ।’पछिल्लो समय विभिन्न मुलुकमा कार्यरत श्रमिकहरुभन्दा उनीहरुका आफन्तहरु बढी त्रासित भेटिएका छन्।यो समाचार आजको नेपाललाईभमा निर्मला घिमिरेले लेखकी छिन।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...