तोयानाथ उपेक्षित – सबै कुरा छाड्नुस र कोरोनाको कुरा मात्र गर्नुस, यो कोरोना वर्ष हो । यसलाई स्वास्थ्य सभ्यता निर्माण बर्षका रुपमा मनाऔ । आफू बँचौ र अरुलाई बचाऔं । हामीलाई हिमालको हिउँले बचाउँछ भन्नु वा हाम्रो जीन र बीउले हामीलाई केही हुन दिदैन भन्नु पाखण्डी कुरा मात्र हो त्यस्तो भ्रममा नपरौ । भाग्य र कालका कुरा गरेर कोरोनाको हातमा जिवन नसुम्पाैं ।
एउटा मास्क समेत खरिद गरेर लगाउन नसक्ने मानिसहरु छन नेपालमा । मास्क लगाउनु भनेको मुख छोप्ने टालो बाध्नु मात्र होईन । सर्जिकल मास्क दिनहुँ फेर्ने हैसियत कति मानिससँग होला ? खरिद गर्छु भन्नेले पनि बजारमा नपाउने स्थिती हुँदैछ । कपडा वा रुमालले मुख र नाक छोपेर ढुक्क हुने अवस्था छैन । त्यसले धुलो त छेक्ला तर कोरोनालाई त्यतिले मात्र छेक्ला भन्ने होईन । मुखमा बाधेको टालो आफैमा कति सफा छ ? कति दिन नधोई त्यस्लाई मुखमा टासि रहने गर्नु हुन्छ ? त्यो आफैमा किटाणु बस्ने गुँड त बनिरहेको छैन ? यसतर्फ पनि जनचेतना जगाउन आवश्यक छ । मास्कको प्रयोग गरेर मात्र पुग्दैन तपाईको हात कति सफा छ ? हातले दिनमा नाक, मुख, र आँखासँग कति पटक स्पर्श गर्दछ भनेरे ख्याल नगरिने कुरा मा अव विचार गर्न पर्दछ । यो निक्कै गंभिर कुरा पनि हो । भाईरसलाई शरीरमा पुर्याउने काममा हातकै सबै भन्दा बढी भूमिका हुन्छ । हामीमा मसिनो गरि स्वास्थ्य र सफाईको ज्ञान र त्यस कुराको ध्यान पटक्कै छैन ।
यो यस्तो भाईरस जसबाट बँच्न सावधानी अपनाउने कुरामा आफू मात्र सचेत भएर पनि पुग्दैन । अज्ञानीलाई हरेकले सिकाउन र संझाउन उतिकै जरुरी छ यो सबै सचेत मानिसको कर्तव्य बनिसकेको अवस्था हो । नत्र घुम्दै फिर्दै भाईरसले तपाई हामीलाई आक्रमण गर्ने सम्भावना जीवित रहि नै रहन्छ । तपाईको वरिपरी त्यसले चक्कर काटिरहेको हुन्छ । हात बारम्बार सावन पानीले धोईरहने कुराको बानी बसाल्न अति नै जरुरी छ । मास्कको प्रयोग त्यो पनि सचेत र सही ढंगले प्रयोग गर्न पर्दछ । हरेक मानिससँग हात मिलाउने कुरा बन्दै गर्न पर्दछ । हाम्रो संस्कारले सिकाएको परैबाट नमस्ते भन्ने कुरा कति बैज्ञानिक रहेछ सोचौ त । हामीले कसैसँग कुरा गर्दा समेत केही मिटरको दुरी बनाउन सकेसम्म प्रयास गर्न पर्दछ । कुनै कार्यलय, घर, अस्पताल, वा सार्वजनिक स्थलमा रहेका ढोकाहरु खोल्दा हेण्डल पक्रनु , ट्वाईलेटको फल्यास दवाउनु जस्ता सामान्य काम गरिरहेको ख्याल नै नहुन सक्छ । भाईरस फलोर, कुर्सी, टेवल वा वेडमा भन्दा धेरै ती स्थानमा हुन्छन । सेनीटाईजरको उपलब्धता हाम्रो जस्तो देशमा कमै मानिसको पहुचमा हुने भएकाले आम सर्वसाधरणले कमसेकम हात साबुन पानीले राम्ररी नधोई घरमा पुगेर अरु कुनै कुरा नछोएको राम्रो हुन्छ । किफायती तरिका तर अव्बल विधी यहि हो हात साबुन पानीले धोईरहने बानी । बजारमा पाकेका कुनै कुरा सम्भव भए सम्म नखाऔ । भिडभाडबाट टाढा रहाैं ।
अहिले जसरी नोभल कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनिरहेको छ त्यसको यहि रप्तार अरु केही महिना रहने हो भने यो आफैमा एउटा विशाल विश्वयुद्ध भन्दा खतरनाक र भयावह बन्न सक्छ । बम र गोलीले लागेको मानिसलाई बचाउन नसके पनि उसको लासको व्यवस्थापन त हुन्छ तर कोरोनाको लास र सास दुवै मानिसका लागि खतरनाक र घातक भई दिने भएकाले कस्तो अवस्था आउला कल्पना गरौ । सीमित संख्याको संक्रमणले देशको सिंगो अर्थतन्त्र ओरालो लागि रहेको छ भने यसले माहामारीको रुप लिए के होला ? धनी देशलाई समाल्न यस्तो आच्छु आच्छु भईरहेको हामीले देखेका छौ हाम्रो देशमा संक्रमण फैलिए जंगल पस्ने की गुफा ?
विश्व नै लक डाउनको नजिक पुग्ने हो कि भन्ने खतरा बढेको छ । मानिसहरु काममा जान नसक्ने अवस्था आए वैदेशिक रोजगारीमा रहेका लाखौ मानिसको अवस्था के होला ? घर जान नसक्ने गरी उडानहरु रद्ध भएको अवस्थामा कस्तो कोलाहल मच्चिएला ? विदेशमा नै मरिहाले त्यसको लास घर पुग्ला भन्ने कल्पना नै नगरौ ? त्यो लान कुनै विमान कम्पनी पनि तयार नहोलान र त्यस देशको सरकारले पठाउने आँट पनि नगर्ला । अरु त कुरै छाडौ आफ्नै ती कोरोना संक्रमित नागरिकलाई न त सरकार ग्रहण गर्न तयार हुन्छ न त कसैको घर परिवार । मानिस आफू बच्न अरुको मृत्युलाई सहज मानेर चित्त बुझाउने दिन पनि आउन सक्छ । मुख हेर्ने धोको नहुन सक्छ ।
कोरोना संक्रमित मानिसको मृत्यु भएमा माटोमा पुर्न हुन्न भन्ने तर्कले नै यसको खतरा कति प्रतिशत गंभिर छ भन्ने पुष्टि गर्दछ । तिनलाई जलाउन ईलेक्ट्रिकल भट्टी निर्माण गर्न पर्ने अवस्था कतिपय देशका सरकारलाई आउन सक्छ । यस अर्थमा पनि हाम्रो दाहसंस्कारको परम्परा पनि उतिकै बैज्ञानिक रहेछ भन्ने सबै प्रकारको समाजले महसुस गरिरहेको विषय हुन सक्छ ।
कोरोना भाईरसलाई नियन्त्रण गर्न र यसको उपचार खोज्न भईरहेका प्रयासहरुमा जति समय लाग्छ त्यति विश्वमा भयंकर खैलावैला बढ्नेवाला छ । यसले भेटेजति मानिस सब मरेका छैनन र मृत्युदर हेर्दा अतालिन पर्ने स्थिती त आईसकेको छैन नै तर भोलीका दिनमा यसको तिव्रतापूर्वक हुने प्रसारण नियन्त्रणमा नआए त्यो दर न्युन नै रहन्छ भन्ने छैन । हरेक सरकारका साधन र श्रोतको अपर्याप्तता बढदै गएपछि यो भयावह बन्न सक्छ ।
यसर्थ अरु सबै कुरा छाडौ कोरोनाको कुरा गरौं । सचेतनता नै अहिले सम्मको सबै भन्दा धेरै संक्रमण फैलनबाट रोक्ने कुरा हो । यसरी कुरा गर्दा त्रास फैलन्छ भनेर कुरा लुकाउनु झन अर्को गल्ती हुन जान्छ । मानिसमा जति धेरै डर भयो त्यति धेरै सचेत हुन्छ । यहाँ अत्याउने कुरा भनेर केही होईन कोरोना भन्ने समय छैन । स्वास्थ्य सभ्यता निर्माण गरौ । जनचेतना फैलाउन सबैले हरेक ठाउँमा कुरा गरौ ।