Tuesday 15th September 2026

छठपूजाका लागि झापाका नदी किनार सजाइए


छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका नदीका घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ सेवा समिति विर्तामोडकी अध्यक्ष सङ्गीता रौनियारले बताइन् ।

उनका अनुसार जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडका बर्तालुहरूले कनकाईको बिरिङ नदी किनारमा सजाइएका घाटमा पूजा गर्ने तयारी भएको छ । “विर्तामोड, चारपाने, दुर्गापुर र लक्ष्मीपुरका छठ पूजा गर्नेहरूका लागि हामीले कनकाईको बिरिङमा सम्पूर्ण तयारी पूरा गरेका छौँ”, उनले भनिन्, “यो सांस्कृतिक पर्वलाई भव्य रूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग हुने अपेक्षा राखेका छौँ ।”

कनकाईको बिरिङ घाटमा एक सय ७५ भन्दा बढी मण्डप निर्माण गरिएका छन् । सोही अवसरमा हजारौँको भीड लाग्ने र विशेष कार्यक्रमसमेत आयोजना हुने भएकाले छठ सेवा समितिले स्वयंसेवक, अर्थलगायतका विभिन्न उपसमिति गठन गरेको उनले जानकारी दिइन्।

यसैगरी, भद्रपुर र काँकडभिट्टास्थित मेची नदी किनारमा छठ पूजाका लागि विशेष तयारी भएको छ । भद्रपुर–५ स्थित मेची नदीको दुवै किनारमा हुने छठ पूजामा विगतमा जिल्लाकै सबैभन्दा धेरै भक्तजन र दर्शनार्थीको भीड लाग्ने गरेको थियो ।

विर्तामोडको अदुवा खोला, कन्काई नदी, धुलाबारीको निन्दा, अर्जुनधाराको टाङटिङलगायत दर्जनौँ खोला तथा नदीमा छठ पूजाको तयारी गरिएको पाइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने झापा गाउँपालिकामा यही उपलक्ष्यमा धार्मिक मेलाको आयोजना गरिएको छ । झापा गाउँपालिकाको वडा नं २ स्थित सानोमाई नदीमा कात्तिक ९, १० र ११ गते धार्मिक मेला लाग्ने झापाली युवा क्लबका अध्यक्ष समीलाल राजवंशीले बताए।

धार्मिक मेला र पूजालाई व्यवस्थित बनाउन उनको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । सानो माई नदी किनारमा छठको अवसर पारेर विगत केही वर्षदेखि धार्मिक मेला लाग्न थालेको उनले बताए। विशेषगरी तराईवासीले मनाउने छठपर्व हिजोआज अन्य समुदायले समेत उल्लासपूर्वक मनाउने गरेको पाइएको छ ।

ठेकुवालगायत पीठोबाट बनाइएका प्रसादहरूसँगै केराको घरी, माटोको हात्ती, कलशसहित पूजा सामग्री बोकेर बर्तालुहरूले सोमबार साँझ अस्ताउँदो सूर्यको पूजा गर्ने र मङ्गलबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने झापाली युवा क्लबका अध्यक्ष राजवंशीले बताए।डिसी नेपाल बाट


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...