Wednesday 13th May 2026

कञ्चनपुरस्थित माइती नेपालले २ सय ३९ जनाको उद्धार गर्यो


तितोपाटी- सुदूरपश्चिम प्रदेशबाट भारत हुदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ। बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग ८० प्रतिशतले बढेको बताए।

“बेचबिखनको खोजीमा परेका र पर्नसक्ने सम्भावना रहेका २३९ महिला तथा बालबालिकाको यो वर्ष उद्धार गरी पारिवारिक मिलनसमेत गरायौँ”,माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भन्नुभयो, “दलालहरुका लागि सामाजिक सञ्जाल सजिलो माध्यमका रूपमा देखिएकाले यसबारे गम्भीर हुन जरुरी छ।” भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय वेश्यालयमा पुगेको यथार्थ उनले सुनाए।

कञ्चनपुरको सीमानाकाबाट माइती नेपालले मुलुकका ४५ जिल्लाका महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ।“पहिलेको भन्दा अहिले सुदूरपश्चिममै बेचबेखिनको उच्च जोखिम बढेको छ”, संयोजक भट्टले भने, “स्थानीय तहका जनप्रतिनिधिले पनि उमेर नपुगेकालाई रोजगारीका लागि देश बाहिर जान सिफारिस गर्दा नियन्त्रणमा चुनौती थपियो।”

माइती नेपालले उद्धार गरेकामध्ये १५५ महिला तथा बालबालिका सुदूरपश्चिम प्रदेशका रहेको तथ्याङ्कले देखाएको छ। सुदूरपश्चिममा पनि कञ्चनपुर र कैलाली बेचबिखनको बढी खोजिममा रहेका छन्। “भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढी हुँदैछ”, उनले भने, “काठमाडौँमा बस चढाउने र दिल्लीमा ‘रिसिभ’ गर्ने क्रम बढेकाले सरकार पनि गम्भीर हुन जरुरी छ।”

कञ्चनपुर खुला सीमानाका भएकाले पनि मानव बेचबिखनका दृष्टिले चुनौती रहेको बताउँदै उनले गड्डाचौकी र दोधारा चाँदनीको झोलुङ्गे पुलमा माइती नेपालले परामर्श केन्द्र राखेको जानकारी दिए। “वडाध्यक्ष नै काम गर्न जाँदैछ किन रोक्नुहुन्छ भनेर फोन गर्छन”, उनले भने, “वडास्तरमा पनि जनचेतनामूलक कार्यक्रम गर्नु अतिआवश्यक छ।”

सन २०१९ मा माइती नेपालले भारतको जिवीरोडदेखि हल्द्धवानी, बरेली, पिथौरागढलगायतका शहरहरुबाट भारतीय सङ्घसंस्था र प्रहरीको सहयोगमा नौ महिलाको उद्धार गरेको माइती नेपालले जनाएको छ। “बेचबिखन बढिरहेको भए पनि हामीले त्यसमा संलग्न एक जनाविरुद्ध मात्रै मुद्दा चलाउन सफल भयौँ”, भट्टले भने, “घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती हुन।”

त्यसैगरी माइती नेपालले बितेको एक वर्षमा भारत जाने तीन हजार ६८० सवारीसाधन गड्डाचौकीमा जाँच गर्नुका साथै सीमानाकामा झण्डै १४ हजार महिला तथा बालबालिकालाई परामर्श प्रदान गरेको छ। उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालीम दिएर आयमूलक काममा लगाउन पनि सहयोग गर्दै आएको माइती नेपालले दुई वर्षमा १८ महिलालाई काठमाडौँ लगेर सीपमूलक तालीमसमेत दिएको संयोजक भट्टले बताए।

“मानव बेचबिखनमा दलालहरु सक्रिय भइरहँदा हामीसित उद्धारमा खटिने एउटा सरकारी संयन्त्र गठन हुनसकेको छैन”, उनले भने, “यहाँ जोखिम रहेको बेचबिखन नियन्त्रणमा स्थानीय र प्रदेश सरकार पनि गम्भीर हुनु जरुरी छ।” रासस


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...