Sunday 26th July 2026

बाबु फरार, आमाको मृत्यु, नौ महिने शिशु अस्पतालमा


सिन्धुपाल्चोक– ६ किलो घुम्ति दुर्घटनामा बसका चालक स्वयम् सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ।जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र झण्डै नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए।

फर्कँदासुमनले हाँकेको बा२ख ४४६८ नम्बरको बस दुर्घटना भयो। दुर्घटनामा चालक सुमनले पत्नी गुमाए। दुर्घटनामा निधन भएका १५ मध्ये उनकी पत्नि सुनिता एक थिइन्। घटना लगत्तैदेखि सुमन फरार छन्। उनीहरुका काखे शिशु खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालको संरक्षणमा छन्।

‘चालक पनि परिवार लिएर कालिञ्चोक गएको, दुर्घटनामा पत्नी गुमाएको सोमबार मात्र पत्ता लाग्यो,’ जिल्ला ट्राफिक प्रहरी कार्यावयका प्रमुख सई राजेश दाहालले भने।दुर्घटनाका घाइतेसँगै शिशुलाई पनि अस्पतालमा लगिएको थियो। उनका अनुसार सुरुमा प्रहरीलाई दुर्घटनाका घाइते र मृतककमध्येकै एकको शिशु भएको लागेको थियो। सदाबहारबाट घाइते रेफर भइसक्दा पनि शिशु कसैले दाबी नगरेपछि प्रहरीले उनका आफन्तको खोजी थालेको थियो।

अलपत्र परेका शिशुको आफन्त खोजी गर्ने क्रममै चालकको पहिचान खुलेको सई दाहालले बताए। ‘पछि मृतक सुनिता चालकको पत्नि भएको खुल्यो,’ उनले भने। उनका अनुसार शिशु तन्दुरुस्त छन्। यति ठूलो दुर्घटनामा उनलाई सामान्य पनि चोटपटक लागेको छैन। उनी अस्पतालका महिला स्वाथ्यकर्मीसँग बसिरहेका छन्।

शिशु र मृतक सुनिताका घर र माइती पक्षका आफन्त प्रहरीसँग टेलिफोन सम्पर्कमा आइसकेका छन्। टेलिफोनमा आउँछु भने पनि शिशुको जिम्मा लिन र मृतकको शव बुझ्न अहिलेसम्म कोही आफन्त नआएको दाहालले जानकारी दिए। मृतक सुनिताको शव बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा छ। दुर्घटनामा धेरैले ज्यान गुमाएकोमा डर र पत्नी गुमाउँदाको शोकले चालक सम्पर्कमा आउन नचाहेको प्रहरीको अनुमान छ।

-नगारिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

प्रतिकृयाहरू
...