Thursday 2nd May 2024

कहिले सम्म युवाहरू लाखौं रुपैयाँ तिरेर खाडी भासिनु पर्ने हो ?


चन्द्र गोतामे – हरेक दिन हजारौं युवाको घुइँचो त्रिभुवन विमानस्थलमा देखिन्छ । अहिले स्वदेशमा रोजगारीका अवसर निकै न्यून भएका कारण लाखौं युवा बाध्यताले विदेश भासिरहेका छन् । वर्तमान परिवेशमा युवा रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक भासिएकै छन्। विदेशमा रोजगारीका लागि जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, राम्रो सेवासुविधा लगायतका अवसर प्राप्त गरेका होलान् भनी आम मानिसको बुझाइ पाइन्छ तर विदेशमा ५०-५५ डिग्रीको घाममा दस नङ्ग्रा खियाउने र पसिना बगाउने श्रमिकलाई मात्र विदेशको वास्तबिकता हेक्का छ । यानिकी स्वदेश बसेर विदेशको सपना देख्नेलाई कुनै वस्तबिक तथ्यको महसुस र हेक्का हुदैन ।

नेपालका युवा वर्गको रोजगारीको मुख्य गन्तव्य मुलुक खाडी नै हो । खाडीमा आउन पनि कयौं युवा दिनप्रतिदिन ठगिएको घटनाहरु आइरहेका छन । खाडीमा दु:ख पाउने युवाको संख्या पनि उत्तिकै मात्रामा छ । लाखौं रुपैयाँ धनराशी खर्चंदै चर्को ब्याजदरको भारी बोकेर खाडी भासिएका युवाहरु वर्षौं सम्म दुख-कष्ट गरेर खाली हात फर्किनु परेको उदाहरण पनि प्रशस्त छ । खाडीमा कतिपय युवाले सम्झौता अनुरूपका काम र पारिश्रमिक समेत पाउन निकै मुस्किल भएको छ। घरपरिवारलाई सुख सयलमा पाल्ने, सन्तानलाई राम्रो बोर्डिङ स्कुलमा शिक्षादीक्षा दिने अभिलाषा राखी भासिएका सयौं युवाको सपना खाडी लगायत अन्य मुलुकमा सपना मै सिमित भएका छन ।

मेनपावरले सरकारद्वारा विदेश जाने कामदारको लागि तोकिएको सेवा-शुल्क रकम लिदैनन । उनीहरुले लाखौं रुपैयाँ असुल गरिएको रकम बराबरको बिल-भौचर समेत दिदैनन । एजेन्टले कसैले एअरपोर्टमा कति पैसा दिएको भनी सोधपुछ गरेमा दश हजारमात्र दिएको भनी भन्नु भनेर भन्छन् । यदि नेपालमा बसौं रोजगारको अवसर निकै कम भए कै कारण लाखौं रुपैयाँ तिरेर ठगिएको थाहा हुँदा हुँदै पनि हस भन्दिन भनेर हिड्न बाध्य भएका छन । लाखौं रुपैयाँ तिरेर विदेश आएका युवाले सम्झौताअनुरूपका काम पाउदैनन् र तलब पनि पाउदैनन् । सम्झौता पत्रमा एक काम भनिएको हुन्छ भने विदेश पुगे पछि अर्कै काम गर्न बाध्य पारिन्छ । काम नगरौं भने चर्को ब्याजदरमा लाखौं ऋण लिएको, घरपरिवार कसरी पाल्ने जस्ता यावत कुराले झसङ्ग बनाउँछ र काम गराैं भने सम्झौताअनुरुपको हुँदैन ।

सेल्स म्यानको काम हो भनेर क्लिनिङको काम, जङ्गलमा खेतीपाती गर्ने काम लगायतका भेडा हेर्ने काममा समेत लगाइन्छ । शिक्षाको कमिले गर्दा पनि सम्झौतामा के लेखिएको छ भनेर समेत पढ्न नसक्नेले त निकै दुःख पाउनु परेको छ । कहिले सम्म लाखौं युवा यसरी खाडी भासिनु पर्ने हो ? किन हाम्रो सरकारले युवा दस्तालाई स्वदेश मै रोजगारको ब्यबस्थापन गर्न सकिरहेको छैन ? कहिले सम्म युवा खाडी लगायतका अन्य मुलुकबाट बन्द बाकसमा फर्किनु पर्ने हो ? यो विषयमा सरोकारवाला निकाय कहिले गम्भीर हुन्छ होला ?

यदि विशमा रोजगारीका लागि श्रमिक पठाउने हो भने उनीहरुको लागि विभिन्न किसिमका सिपको तालिम, अभिमुखीकरण तालिम, सम्बन्धित श्रम गन्तव्य मुलुकमा बोलिने भाषाको सामान्य ज्ञान, कामबारेको ज्ञान, वातावरण र ट्राफिक नियमहरुसम्बन्धी सामान्य ज्ञानको जानकारी गराउनु पर्दछ । विदेशमा पनि नेपाली दूतावासले नेपाली श्रमिक रहेका कम्पनीमा चेकजाँच गर्ने क्रममा नेपाली श्रमिकको लागि राम्रा र नाम चलेका कम्पनीमा मात्र होइन कि जहाँ श्रमिकले दुःख पाएका छन, समयमा तलब पाएका छैनन् र खान पाएका छैनन त्यस्ता कम्पनीमा गएर चेकजाँच गरिदिए अति उत्तम हुने थियो । कम्पनीका एक दुई जना होइन कि प्रत्यक्ष सबै नेपाली श्रमिकसंग भलाकुसारी गर्न सक्ने वातावरण सिर्जना गर्न सकेमा श्रमिकहरूको यावत समस्या न्युनिकरणमा सहज वातावरण तय हुन सक्थ्यो ।

वर्तमान परिवेशमा युवा पुस्ता सबै खाडी लगायत अन्य मुलुकमा भासिएर स्वदेशमा नहुँदा गाउँघरमा बिरामी परेर थलिंदा, घटना-दुर्घटना हुँदा वा सुत्केरी ब्यथाले च्याप्दा अस्पताल लैजान र कसैको मृत्यु हुँदा घाटसम्म लैजाने मानिस समेत नभएर अलपत्र परेको अबस्था एकातिर छ भने युवा जति सबै विदेशमा श्रीमती जति शहर बजारमा छोराछोरी पढाउन बस्ने हुँदा बुढ्यौली उमेरका मानिस मात्र घरमा हुने भएकोले खेती किसानीको काम समेत गर्न निकै मुस्किल परिरहेको घाम जस्तै छर्लंगै देखिन्छ । अब पनि सरकार, राजनैतिक दल, देश हाँक्ने नेता लगायत सरोकारवालाले युवा दस्तालाई स्वदेश मै रोजगारीको ब्यबस्थापन नगर्ने हो भने नेपालका खेतीयोग्य जमिन सबै बाझो हुने संभावना पनि प्रवल छ । कृषिमा क्रान्ति गर्नु पर्छ भनेर मात्र हुँदैन । कृषिको लागि अत्यावश्यक बस्तुको प्रयाप्त मात्रामा उपलब्ध गराएर सकेसम्म युवालाई विदेश जानबाट रोक्न सक्नु पर्छ । लाखौं रुपैयाँ तिरेर युवा विदेश जानुको साटो विदेश जाँदा लाग्ने खर्च स्वदेश मै लगानी गरेर मनग्ये आम्दानी हुने वातावरणको सिर्जना छिट्टै होस् ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...