Sunday 3rd May 2026

क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र


क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा बुधबार आयोजित विशेष समारोहमा पौड्यालले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उहाँको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिए।

उनले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि अवगत गराए।

नेपालको सामाजिक-आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए।

दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गरे।

साथै उनले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताए।

त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो। रासस


सम्बन्धित शीर्षकहरु

शताब्दी पुरानो बुद्ध मूर्ति आफ्नो जन्मथलोमा फर्किएपछि काठमाडौँको एउटा प्राचीन मन्दिर परिसर शुक्रबार भावुक वातावरणले भरिएको थियो। दशकौँअघि चोरी भएर…

जन-जागृति युवा समाज कुवेतले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा मृगौला पीडित एक श्रमिकलाई नेपाली रूपैयाँ ५० हजारभन्दा बढी…

राष्ट्रपतिको कार्यालय अहिले केवल औपचारिक संस्था होइन, नेपालको संवैधानिक शक्ति-सन्तुलनको केन्द्रबिन्दु बनेको छ। Ram Chandra Poudel ले मन्त्रिपरिषद्ले सिफारिस गरेका…

प्रतिकृयाहरू
...