Thursday 14th May 2026

नेपाल–युएईबीच भएको श्रम समझदारीलाई मुर्तरुप दिने प्रयास


तितोपाटी-नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) लाई मूर्तरुप दिन आगामी नोभेम्बर पहिलो साता दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को बैठक काठमाडौँमा बस्ने भएको छ ।

आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन युएई पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार उक्त बैठक बस्ने टुङ्गो लागेको हो । समझदारीपत्रको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषय दुई देशका प्रतिनिधि संलग्न संयुक्त बैठकबाट तय गरिने एमओयुमा उल्लेख थियो । संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने विश्वास गरिएको छ । यससँगै नेपाली कामदारले नयाँ समझदारीको भावनाअनुसार सेवासुविधा प्राप्त गर्नेछन् ।

सन् २००७ पछि श्रम आप्रवासनका क्षेत्रका मूलभूत मान्यता र सिद्धान्तमा आएको परिवर्तनलाई आत्मसात् गरी त्यसअघिको समझदारीलाई समयानुकूल बनाउन नेपाल र युएईबीच गत जेठ ३१ गते नयाँ श्रम समझदारी भएको थियो । समझदारीमा कामदारको छनोट÷भर्नाका सन्दर्भमा लाग्ने सबै लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने मान्यतालाई स्थापित गरिएको छ । रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने, कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातावरण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने विषयलाई समझदारीले सुनिश्चित गरेको छ ।

युएई नेपाली श्रमिकको आकर्षक गन्तव्यका रुपमा रहेको छ । युएई नेपालको चौथो प्रमुख गन्तव्य मुलुक हो । हाल वार्षिक ५० हजार भन्दाबढी नेपाली श्रमिक रोजगारीको खोजीमा युएई जाने गरेका छन् ।बैठकमा युएईमा कार्यरत नेपालीको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा उनीहरुबीच छलफल भएको थियो ।

बैठकमा श्रम मन्त्रालयका सचिव विनोद केसी, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललगायत सहभागी भएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।आजदेखि युएईमा शुरु भएको अबुधाबी डाइलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा भाग लिन मन्त्री विष्ट तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

प्रतिकृयाहरू
...