Friday 24th April 2026

परदेशिएका नेपालीले पाएनन दशैमा घर जाने बिदा


तितोपाटी- दशैं नजिकिएसँगै चार्ड मनाउन घर फर्कनेको संख्या बढ्न थालेका छन् । काठमाडौंबाट गृह जिल्ला जाने मात्र होइन दशैं मनाउन नेपाल भित्रनेको संख्या पनि बढेको छ ।

वैदेशिक रोजगारीमा गएका युवा नेपाल भित्रने क्रम बढेपछि त्रिभुवन विमानस्थल यतिबेला भिडभाड बन्न थालेको छ । रोजगारीका लागि विदेश जानेभन्दा दशैं बिदामा घर फर्किने श्रमिकको संख्या बढी रहेको विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयले जनाएको छ । विमानस्थलमा दशैं मनाउन फर्किने र अन्य हवाई यात्रुको भीडभाड ठुलो देखिन्छ । सोमबार मलेसियाबाट फकिदै गरेका पोखराका राजन केसी विमानस्थलको आगमन कक्षबाट बाहिरिदै गर्दा भेटिए ।

२ महिनाअघि कम्पनीसँग बिदामा जाने भनेर दशैं मनाउन आएको केसीले बताए । ‘४५ दिनको बिदामा आएको छु । परिवारसँगै रहेर चाडपर्व मनाउँन भनेर नै दशैंको बेला नेपाल घर आएको हो । नेपालीहरुको चाडपर्वका बेला मलेसियामा छुट पाउन मुश्किल हुन्छ,’ उनले भने, ‘सबै घर आउन खोज्छन् । अनि कम्पनीले यो समयमा बिदा दिन मान्दैन् । दशैंका बेला धेरै नेपालीले हवाई टिकट नपाएर स्वदेश फर्किन सक्ने अवस्था पनि हुँदैन् ।’

यस्तै, ५ महिनादेखि कम्पनीमा भन्दामात्र दशैंका बेला बिदा पाएको दक्षिण कोरियाबाट फर्किदै गरेका खोटाङका मनकुमार राईले बताएका छन् ।
‘एक त कम्पनीले सबै बिदा यही समयमै छुट्टी धेरैले माग्छन् । त्यही भएर बिदा मिलाउन कठिन छ,’ उनले भने, ‘त्यसमाथि छुट्टी मिलिहाल्यो भने पनि जहाजको टिकट नपाएर हैरान छ । धेरै साथीहरु त टिकटकै अभावमा घर आउन नसक्ने हुनुभएको छ ।’

कोरियाबाट आफूसँगै २० जना नेपाली दशैं मनाउन छुटीमा आएको उनको भनाइ छ । यसैगरी, कतारबाट दसैं, तिहार मनाउनकै लागि घर आएको विमानस्थलमा भेटिएका चितवनका रामप्रसाद ढुंगानाले बताए । उनले भने, ‘कतार गएको २ वर्षमा एक पटक बिदा मिल्छ । यसरी पाएको बिदालाई चाडपर्वकै बेला पारियो भने धेरै आफन्तसँग भेटघाट हुन पाइन्छ । सम्बन्धमा आफ्नोपन पनि आउँछ । चाडपर्वमा गाउँघरको माहोल पनि भरिभराउ र उल्लासमय हुन्छ ।

चाडपर्वका समयमा धेरै नेपालीहरु दशैं, तिहार मनाउनकै लागि घर बिदामा आउने गर्छन असोज महिना लागेपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किने माहोल देखिन्छ । विमानस्थलको प्रतिक्षाकक्षमा विदेशीबाट फर्किनेलाई लिन आउने आफन्तको पनि भीड लाग्ने गरेको छ ।

अध्यागमन कार्यालयका अनुसार केहीदिन यता वैदेशिक रोजगारीबाट दैनिक २ हजार ५ सयको हाराहारीमा नेपाली स्वदेश फर्किने गरेका छन्। यो संख्या अन्य समयको भन्दा ३ गुणा बढेको छ ।

चाडपर्व भन्दा बाहेकको समयमा यो तथ्यांक दैनिक ३ देखि ७ सयसम्म मात्रै विदेशीबाट नेपाल आउने गरेका थिए । उता रोजगारीको खोजीमा दैनिक करिब ७ सयको संख्यामा विदेसिने गरेको कार्यालय बताउँछ । तर, चाडपर्वका बेला भने दैनिक ३ सयमा विदेशी जाने गरेका छन् ।असोज महिना लागेपछि मात्रै करिब १ लाखभन्दा धेरै रोजगारीका गएका श्रमिक स्वदेश फर्किएको अध्यागमन कार्यालयको अनुमान छ । सामान्य समयभन्दा चाँडपर्वका बेला ४ गुणा नेपाली स्वदेश फर्किने गरेका कार्यलयले जनाएको छ ।

मासिक २० हजारको हाराहारीमा मात्रै स्वदेश फर्किने गरेको कार्यालयको तथ्यांक छ । तर, चाडपर्वको समयमा भने दैनिक ३ हजार भन्दा धेरै स्वदेश फर्किने गरेको कार्यलयको अनुमान छ ।

चाडपर्वको मुखमा स्वदेश फर्किने नेपालीको संख्या बढनु स्वभाविक नै भएको अध्यगमन विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
‘परिवार, आफन्तसँग भेटघाट गर्न मौका पनि यहि भएका कारण धेरै फर्किन्छन् । अर्कोतर्फ संस्कृति र धार्मिक आस्थाका हिसाबले पनि चाडपर्व महत्वपूर्ण मानिन्छन् । जसकाकारण पनि यो समय धेरै नेपालीहरु घर बिदामा आउँछन्,’ उनले भने ।

वैदेशिक रोजगारीका लागि नेपाली युवा सबैभन्दा धेरै खाडीका देश र मलेसिया जाने गरेको सरकारी तंथ्याकमा छ । विदेसिएका कुल नेपालीमध्ये यी देशमा मात्रै करिब ७५ प्रतिशतभन्दा धेरै कामदार पुगेका छन् ।

त्यसकारण पनि चाडपर्वका बेला यीनै देशहरुबाट स्वदेश फर्किनेको संख्या धेरै हुन्छ । यसैबीच, वैदेशिक रोजगार विभागले विदेशबाट फर्किएका कामदारको तथ्यांक राख्न गत वर्षको असोज १५ देखि शुरु गरेको छ । त्यस यता ३ लाखभन्दा धेरै नेपाली कामदार विदेशबाट नेपाल फर्किएका छन् । वैदेशिक रोजगारीकै लागि ४४ लाख नेपाली विदेशमा छन्। यो समाचार खबर हबमा रमेश भारतीले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा…

प्रतिकृयाहरू
...